काठमाडौं - हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चा क्षेत्रमा रहेको नेपाल र चीन सीमाको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको जिल्लाका सुरक्षा प्रमुखहरुको टोलीले हराएको भनिएको सीमा स्तम्भ फेला पारेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए।
‘बुधबार सिडियो सापहरुले हराएको भनेको सीमा भेट्नु भएछ,’ उनले भने, ‘११ नम्बरको पिल्लर टाकुलेमा भेटिएको खबर आएको छ।’ लाप्चा क्षेत्रमा चीनले बनाइरहेको भवनको स्थलगत निरीक्षण गरेर प्रमुख जिल्ला अधिकारी गिरीको टोली गत आइतबार हिल्सा क्षेत्र गएको थियो। ११ नम्बरको पिल्लर सिल्सा प्रहरी चौकीबाट केही माथि भेटिएको अध्यक्ष तामाङ बताउँछन्। ‘असाध्यै माथि रहेछ पिल्लर ।
पाँच हजार २ सय मिटर भन्दा पनि धेरै उचाइमा भेटिएको छ,’ उनी भन्छन्। उनले हराएको सीमा स्तम्भ भेटेको खबर पाएपछि अब चीनले बनाइरहेको भवन कुन देशमा बनेको एकिन हुनुपर्ने बताएका छन्।
‘हिजो सिडियो साप, मेजरसाप, अन्य सुरक्षकर्मीको टोलीले हिँड्नेक्रममा हिउँको थुप्रोसँगै सिमेन्टको पिल्लरको टुप्पो देख्नु भएछ,’ प्रमुख जिल्ला अधिकारी गिरीलाई उदृत गर्दै उनले भने, ‘के होला भनेर हिउँ पन्छाएर र केही माटो खनेपछि त सीमा स्तम्भ पो रहेछ। अनि त्यसलाई हिउँले नै पखालेर हेरियो ११ नम्बरको पिल्लर बकैदा लेखेकै रहेछ। अब चीनले बनाएको भवन कस्को भन्ने टुंगो लाग्नु पर्छ।’
शशस्त्र प्रहरीले हराएको भनिएको ११ नम्बरको पील्लर खोज्नको लागि डिएसपी मोहन विष्टको नेतृत्वमा टोली खटाएको थियो। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको सुरक्षा प्रमुखहरुको टोली अझै जिल्ला सदरमुकाम फर्केको छैन।
हिल्सा क्षेत्रमा ११ नम्बरको पिल्लर भेटेपछि उक्त टोली सोही क्षेत्रमा रहेका अन्य सीमा स्तम्भको निरिक्षणमा लागेको बताइएको छ। चीनले आफ्नै भूमिमा बनाएको हो त भवन ? नाम्खा गाउँपालिकाका अध्यक्ष तामाङ चीनले आफ्नै भूमि दाबी गरेर भवनहरु बनाइरहेको ठाउँ भन्दा धेरै परबाट २०६६ सालमै नेपाल तर्फ सडक खनेकोले चीनले आफ्नो भनेको क्षेत्रलाई नेपालको मान्छन्।
‘२०६६ सालमा हामीले सडक खन्दा चिनकै डोजर ल्याएका थियौँ,’ उनले भने, ‘त्यो बेलामा बाटो खन्दा अहिले चीनले बनाएको ११ वटा भवन छ नि त्यो भन्दा साँडे २ किलोमिटर उता सम्म परेको ठाउँबाट सुरु गरेका हौँ। त्यति बेला हामीले सडक निर्माणको काम सुरु गरेको ठाउँलाई दुई देशको सीमा भनिएको थियो।’
आइतबार लाप्चा क्षेत्र पुगेको प्रजिअको टोलीले चिनले बनाइरहेको भवन पनि अवलोकन गरेको थियो। उक्त टोलीमा नाम्खा गाउँपालिका प्रमुख लामा पनि थिए।
‘हामी भवनमा पुगेका मात्रै थियौँ,’ असोज ६ गते भनेका थिए,‘उताबाट दुई ट्रक सेना आइहाले। यो चिनियाँ भूमि हो, यहाँ तपाईंहरु बस्न पाउनुहुन्न भन्दै गइहाल्न भने। माइकिङ गरे सिडियो साव, हामी कसैसँग पनि यो भूमि हाम्रो हो भनेर भन्न सक्ने आधार नभएकोले निरीक्षण मात्रै गरेर फर्कियौँ।’
नेपाली सुरक्षा प्रमुखहरु त्यस क्षेत्रमा करिब २ घण्टा बसेरमा त्रै तल हिल्सा जाने बाटो झरेका थिए। त्यहाँ भएको सामान्य छलफलमा चिनियाँ सुरक्षा अधिकारीहरुले नेपाली टोलीसँग उक्त भूमि चीनकै भएको र चीनकै भूमिमा भवन बनाएको दाबी गरेका थिए।
चीनले नेपाली भूमि अतिक्रमण गरेर ठूला भवन बनाएको समाचारहरु प्रकाशित भएपछि काठमाडौंस्थित चिनिया राजदूतावासले विज्ञप्ती जारी गरेर चीनले आफ्नै भूमिमा भवन बनाएको भन्दै खण्डन गरीसकेको छ। यता परराष्ट्र मन्त्रालयले पनि नेपाल र चीनबीच सीमा समस्या नरहेको बताइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।