काठमाडौं - नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्व विद्यालयलाई प्राज्ञिक शैक्षिक उन्नयनको थलो नभई नेकपाको भर्ती केन्द्र भएको भएको आरोप लगाएको छ। नेविसंघका केन्द्रीय अध्यक्ष राजीब ढुंगानाले आज एक प्रेस विज्ञप्ती जारी गरी त्रिभुवन विश्व विद्यालय राजनीतिक अखडा भएको बताएका हुन्। ढुंगानाले त्रिविमा नयाँ उपकुलपति आएपछि नेविसंघका कार्यकर्तालाई झुठा मुद्दा लगाएर थुन्ने काम गरेको आरोप पनि लगाएका छन्।
‘त्रिभुवन विश्व विद्यालयलाई प्राज्ञिक र शैक्षिक उन्नयनको थलो नभई नेकपाको भर्ती केन्द्रका रुपमा विकास गर्ने एक मात्र निहित उद्देश्यका साथ उपकुलपति भएर आएका वर्तमान उपकुलपति त्रिविमा आए पश्चात त्रिवि शैक्षिक थलो भन्दा पनि राजनीतिक अखडा परिणत भएको सर्वविदितै छ,’ ढुंगानाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उपकुलपति भएर त्रिविको शैक्षिक सुधारमा आफ्नो ध्यान केन्द्रित गर्नुको सट्टा सत्ताको चरम दुरुपयोग गर्दै नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई झुठा मुद्दा लगाई थुनाउने तथा आफूसँग असहमत प्राध्यापकहरूलाई समेत झुठा मुद्दा लगाएर दुख दिनु उपकुलपतिको दिनचर्या भएको छ।’
त्रिभुवन विश्व विश्वविद्यालय परिसरमा सयौँ प्रहरी उपस्थित गराएर विद्यार्थी तथा प्राध्यापकलाई आतंकित पार्ने काम गरेको भन्दै नेविसंघ घोर भत्र्सना गरेको छ। नेविसंघका महामन्त्री दीपक भट्टराइले संकटको बेलामा शिक्षा क्षेत्र थलिएकाले यसलाई सुधार गर्न त्रिभुवन विश्व विद्यालयमा सही नेतृत्व र नेतृत्वसँग योजना नभएको बताउँछन्।
‘हामी संकटमा छौ। शिक्षा क्षेत्र नराम्रो सँग थलिएको छ। यसको सुधारका निम्ति त्रिवि नेतृत्वसँग न कुनै योजना छ न हामीले भनेको सुन्छ,उल्टो विद्यार्थीहरूले जायज माग राख्दा झुठा मुद्दा लगाई प्राज्ञिक थलोलाई ब्यारेक बनाउन खोज्दैछ,’ भट्टराइले भने, ‘हिजोका निरंकुशले जस्तो पुलिस लगाएर विद्यार्थी तर्साउने कोशिश गर्दैछ जुन हतियार हिजै असफल भै सक्यो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।