काठमाडौं - प्रधानमन्त्री केपी ओली पछिल्लो समय आफ्नो निजी सचिवालयका केही सदस्यसँग असन्तुष्ट रहेको पाइएको छ ।
प्रमुख राजनीतिक सल्लाहका विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापासँग ओली त्यति खुसी नभएको स्रोतले बताएको छ ।
सोही कारण पछिल्लो समय रिमाल र भट्टराईलाई भूमिकाविहीन बनाइएको छ । उनीहरू कतै पनि दृश्यमा देखिएका छैनन् । रिमाल र भट्टराईका कारण आफू धेरै नै आलोचित र विवादित बन्नु परेको बुझाई प्रधानमन्त्री ओलीको रहेको नेकपाका एक नेताले बताए ।
रिमाल स्थायी कमिटी सदस्य पनि हुन् । जब उनी मिडियामा आउँछन्, तब ओलीलाई विवादमा तानिहाल्छन् । पछिल्लोपटक परराष्ट्र सल्लाहकारका राजन भट्टराईका कारण ओली निकै तनावमा परेको बुझिएको छ ।
नेपाल भारत प्रबुद्ध समूहका तत्कालीन सदस्य भट्टराईलाई चीनले १५ लाख रुपैयाँ दिएर नेपाल भारत सम्बन्धबारे ‘रिसर्च’ गर्न लगाएको खुलासा भएपछि ओली असन्तुष्ट भएको बालुवाटार स्रोतले बतायो ।
‘ग्लोबल वाच एनलाइसिस’ले सन् २०१७ को अक्टोबरमा नेपालस्थित चिनियाँ दूतावासमा भट्टराईले पेश गरेको प्रोपोजलको प्रमाणसमेत प्रकाशित गरेको छ।
चीनले नेपाल र नेपालका नेताहरुलाई कसरी आफ्नो नियन्त्रणमा लिइरहेको छ भन्ने विषयमा प्रकाशित एक लेखमा भट्टराईको सन्दर्भ जोडिएको छ। लेखका अनुसार रिसर्च पेपरका लागि भट्टराईलाई उक्त रकम दिइएको थियो।
यो प्रोजेक्टको कोअर्डिनेटर भट्टराईकी श्रीमती गीता रहेको उक्त लेखमा उल्लेख छ। नेपाल भारत प्रबुद्ध समूहकै सदस्यलाई चीनले कसरी आफ्नो पक्षमा लिएको थियो भनेर उक्त लेखमा प्रकाश पार्न खोजिएको छ।
भट्टराई सुरुमा तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षमा थिए । त्यहीँ रहेर उनले विभिन्न नियुक्ति पनि पाए । पछि उनी ओली गुटमा प्रवेश गरेर प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्ति पाउन सफल भएका हुन् ।
उनी गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ४ बाट पराजित भएका थिए। उनी नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिजका अध्यक्ष पनि हुन्। आफूले विश्वास गरेका सल्लाहकारकै कारण धेरै विवादमा परेपछि प्रधानमन्त्री ओेलीले डा.युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।
उनलाई अर्थ मन्त्रालय पनि हेर्ने गरी नियुक्ति गरिएकाले अन्य सल्लाहकारहरू अब आफ्नो औचित्य सकिएको बताउन थालेका छन् । प्रधानमन्त्री ओलीले प्रेस र राजनीतिक विषयमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको सल्लाह लिने गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।