सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

 चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

 चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 4.4K
    SHARES

  •  चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

    काठमाडौं - चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५ वर्षदेखि नै निगमले यी सबै जहाज एकैपटक उडाउन सकेन । त्यसैले निगमले चिनियाँ जहाज बोझ बन्दै गएको ठहर गर्दै बिक्री गर्ने निष्कर्षमा पुगेको हो । 

    तर, हालको कोभिड १९ ले नेपालसहित विश्वव्यापी अर्थतन्त्रमा पारेको असरका कारण यी जहाज बिक्री गर्न थप कठिनाइ हुने चिन्ता निगमलाई थपिएको छ ।  निगमको सञ्‍चालक समितिले आन्तरिक उडानका लागि चिनियाँ जहाज चलाउन नसकिने निष्कर्ष निकाल्दै व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । सरकारस्तरबाट यी जहाज ल्याइएकाले यसको व्यवस्थापन पनि सरकारको निर्देशन निगमले कुरिरहेको छ । यी जहाज बिक्री गर्न अर्थ मन्त्रालयकोसमेत स्वीकृति लिनुपर्ने छ । 

    पाँच वर्षदेखि नै ती चिनियाँ विमान चलाउन धेरै प्रयास गरे पनि निगम सफल हुन सकेन । ६ वटामध्ये दुईवटा भन्दा बढी जहाज कहिल्यै उडेनन् । उडान गर्न नसकेर ग्राउन्डमै राखे पनि आर्थिक व्ययभार थपिँदै गएको छ । यसरी चिनियाँ जहाज काम नलगाग्‍ने अवस्थामा त्रिभूवन विमानस्थलको ह्यांगरमा अड्किएका छन् । 

    बंगलादेशलाई चिनियाँ रेलको टाउको दुखाई 

    नेपाललाई चिनियाँ जहाजले तनाव दिएजस्तै चिनियाँ रेलले बंगलादेशलाई टाउको दुखाईको विषय बनेको छ । बंगलादेश रेलवेले छोटो दूरीमा यात्रुहरूको लागि छिटो र आरामदायी यात्रा सुनिश्चित गर्न चीनबाट ल्याइएका 'डेमु ट्रेन' मार्फत सेवा सुरू गर्‍यो । तर यी रेलहरू अब रेल डिभिजनको लागि बोझ बनेका छन् ।

     रेल अधिकारीका अनुसार यी डेमु ट्रेनले विगत पाँच वर्षमा १९.४० करोड कमाइ गरे भने यी रेलहरुको खर्च २५ करोड पुगेको छ । आम्दानीभन्दा डेढ गुणा खर्च भएपछि बंगलादेशलाई चिनियाँ रेल टाउको दुखाइको विषय बनेका हुन् । 

    बंगलादेश रेलवे विभागका अनुसार चीनबाट ल्याइएको डिजेल इलेक्ट्रिक मल्टिपल एकाई (डेमू) का आधा भन्दा बढी ट्रेनहरू प्राविधिक ग्लिचका कारण काम नलाग्‍ने अवस्थामा पुगेका छन् । त्यस्ता रेलहरु मर्मत गर्न बंगलादेशको प्राविधिक क्षमता नभएको बंगलादेश रेलवे विभागले जनाएको छ ।

    डेमू ट्रेनहरू पाँच वर्ष पहिले मात्र चीनबाट ल्याइएको थियो र रेल इञ्जिनियरहरुले अब यी ट्रेनहरुलाई धान्‍न सक्ने अवस्था नभएको बताएका छन् । 

    बंगलादेश रेलवे इञ्जिनियरिङ विभागले डेमु ट्रेनहरू प्रायः जाडोमा प्रयोग गरिन्छ र तिनीहरू यात्रुहरूलाई छोटो दूरीमा लैजान सक्षम छन् । यद्यपि डेमू रेल छिटो र हल्का यात्राका लागि विदेशमा लोकप्रिय भए पनि बंगलादेशका लागि यो निकै खर्चिलो र धान्‍न नसक्‍ने अवस्था भएको बताएको छ । 

    चीनबाट थप आयात गर्ने प्रस्ताव खारेज

    डिजेल इलेक्ट्रिक मल्टिपल एकाई वा डेमू रेलले बंगलादेशलाई ठूलो संकटमा पारेको निष्कर्षसहित थप आयात गर्ने प्रस्थाव प्रधानमन्त्री शेख हसिनाले खारेज गरिदिएकी छन् । चिनियाँ डेम ट्रेनहरु बंगलादेशमा काम नलाग्‍ने भन्दै उक्त प्रस्ताव खारेज गरेकी हुन् । 

    बुधवार ढाकामा हसिनाको अध्यक्षतामा राष्ट्रिय आर्थिक परिषद् वा एकनेकको कार्यकारी समितिको बैठकमा थप आयातसम्बन्धी प्रस्तावमा छलफल भएको थियो । “डेमु ट्रेनहरू चलाउन सकिँदैन । हामीले केही अन्य रेल आयात गर्नुपर्दछ," योजना सचिव मो. नुरुल अमीनले बैठकमा भने ।

    गाजीपुरको बंगबंधु हाईटेक पार्कबाट ढाकासम्म शटल रेलको प्रक्षेपण गर्न डेमू रेल किन्‍ने प्रस्ताव गरिएको बैठकमा उनले यस्तो बताएका हुन् । सचिवका अनुसार "पहिले खरिद गरिएका डेमु रेलहरू यात्रुहरूका लागि काममा आएनन् र तीमध्ये धेरैको बिग्रिएर ग्यारेजमा छन्," सचिवले भने।

    प्रधानमन्त्रीले पनि परियोजनाको सुधार र केही अन्य ट्रेनहरूको आयात गर्ने आदेश दिएकी छन् । उनले पनि ढाका-काल्याकोइर अफिस-घण्टाको ट्रेन बिना रोकतोक सञ्‍चालन गर्न आदेश दिएकी छन् । 

    उनले ढाका-कमिला, अखाउरा-सिल्हट, लाल्मोनीरहट-परबोटिपुर, लकम-चट्टोग्राम र लकम-चन्दपुर मार्गमा डेमु ट्रेन सेवा बन्द गर्न बाध्य भएकोसमेत बताएका छन् ।  अधिकारीका अनुसार बाँकी १० सेट डेमु ट्रेनहरू ढाका-गाजीपुर, ढाका-नारायणगंज र दिनजपुर-पञ्चागर मार्गहरूमा सञ्चालनमा छन् ।

    नेपालमा भारतबाट आइपुग्‍दै रेल 

    नेपालको इतिहासमा दोस्रो रेल्वेको रुपमा सञ्चालन भएको जयनगर (बिहार) देखि जनकपुरसम्म पहिलोपटक ब्रोडगेज लाइन नियमित हुन लागेको छ । न्यारोगेजमा सञ्चालन भइरहेको रेलसेवा बन्द भएको छ वर्षपछि शुक्रबार पहिलोपटक ब्रोडगेज लाइनमा यात्रुवाहक रेल जयनगरबाट जनकपुर आउन थालेको हो ।

    नेपाली भूमिमा पहिलो पटक विसं १९८४ मा रेल चलेको थियो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्‍न पैदल यात्रा गर्थे । उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो । 

    नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो ।

    जयनगर-जनकपुर-बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रुपमा सञ्चालन हुन थाल्यो ।

    सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो । ६ वर्ष अघिसम्म धनुषाको दक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रुपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend