काठमाडौं–प्रदेश नं. ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेशको जिम्मेवारी छाडेर केन्द्रीय राजनीतिमा पुनः सक्रिय हुने सम्भावना देखिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई निकटबाट सहयोग पुर्याउन पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी छाड्ने संकेत आएको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीका अति विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडा र सञ्चारमन्त्री गोकुल बाँस्कोटा दुबै मन्त्रीबाट बाहिरिएको अवस्थामा पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी छाडी फेरि केन्द्रीय राजनीतिमा प्रवेश गर्ने अवस्था आइलागेको बताइन्छ ।
पोखरेलले मंगलबार बिहान खुमलटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग झण्डै दुई घण्टा भेटेका थिए। स्रोतका अनुसार भेटमा पोखरेलले आफू प्रदेश छाडेर केन्द्रको राजनीतिमा प्रत्यक्ष संलग्न हुन पर्ने अवस्था आएकोवारे दाहाललाई जानकारी गराएका थिए ।
यसैबीच, आगामी साता पुनर्गठन हुने मन्त्रीमण्डल र लगत्तै शुरु हुने राजनीतिक नियुक्तिको श्रृंखलालाई ध्यानमा राखेर बालुवाटारमा गृह कार्यलाई तीब्र बनाइएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अमेरिकाको लागि राजदूत बनाउने विषयमा पनि छलफल भएको छ । त्यस्तो अवस्थामा पोखरेल प्रमुख राजनीतिक सल्लाहकारसमेत हुनसक्ने अड्कल धेरैको छ ।
शंकरलाई तत्काल काठमाडौं ल्याउन बालुवाटारले धेरैवटा विकल्प अघि सारेको स्रोतले बताएको छ । संघीय संसदको सांसद नरहेको अवस्थामा पनि उनलाई अर्थ वा सञ्चार मन्त्री बनाउन सकिने गरी गृहकार्य थालिएको हो ।
आगामी छ महिनाभित्र राष्ट्रिय सभाका कुनै एकजना सांसदलाई राजीनामा गर्न लगाएर सो स्थानमा पोखरेललाई ल्याउने मार्ग खुल्ला राखिएको छ । अन्तिम विकल्पमा रिमाललाई राजदूत नियुक्त गरेपछि रिक्त हुने प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको पद सुरक्षित छँदैछ ।
निवर्तमान अर्थमन्त्री खतिवडालाई सल्लाहकार वा अमेरिकाको लागि राजदूत बनाइने सम्भावना पनि पोखरेलको राजधानी आगमन र रिमालको अमेरिकाको राजदूत चर्चाले ओझेलमा पर्ने देखिएको छ । राजनीतिक खेलको पर्दा बिस्तादै उघारिँदै जाँदा खतिवडाको बहिर्गमनको कारण बालुवाटारको किचेन क्याबिनेटभित्रैका कमरेडहरूको अरुची प्रमुख रहेको स्पष्ट हुन थालेको जनआस्था साप्ताहिकले लेखेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।