काठमाडौं– नेकपा भित्रको विवाद समधानका लागि कार्यदल गठन भएसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा लागेका छन्। ओली र प्रचण्डबीच २ वर्ष कार्यकाल पुरा गरेका झण्डै १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्ने सहमति बनेको स्रोतको दाबी छ ।
पहिलो चरणमा मन्त्रिमण्डल पुर्नगठन हुने छ भने दोस्रो चरणमा प्रदेश सरकार पनि पुर्नगठन गरिनेछ । स्रोतका अनुसार पूर्व माओवादीको नेतृत्व रहेका एक मुख्यमन्त्री र पूर्व एमाले नेतृत्वमा रहेको २ गरी कम्तिमा ३ जना मुख्यमन्त्रीलाई विदाइ गरेर नयाँ मुख्यमन्त्री नियुक्त गर्न ओली–प्रचण्ड सहमत भएका छन् ।
माओवादीको तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा रहेको छ भने पूर्वएमालेको तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का शेरधन राईमध्ये २ जनालाई विदाई गर्ने तयारी छ ।
यता नयाँ मन्त्रीमा पूर्व माओवादीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा छ ।
पूर्व एमालेबाट भने पार्टी महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, गणेश ठगुन्ना र प्रेम आले लगायत नयाँ मन्त्री बन्ने चर्चामा छन् । पार्टीमा सहमति जुटेमा ओली भने उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिपरिषद्मा सामेल गराउन चाहेका छन् ।
त्यसैगरी ओलीले २ वर्ष कार्यकाल पुरा गरेको भएपनि गृहमन्त्री रामबहादुर थापा र ईश्वर पोखरेललाई भने निरन्तरता दिन चाहेका छन्। यता प्रचण्डले पनि वर्षमान पुन र विना मगरलाई निरन्तरता दिन चाहेका छन्। चार जना बाहेक अन्यमन्त्रीको पद रेड जोनमा रहेको स्रोतले जानकारी दियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।