काठमाडौं - डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि अर्थ र सूचना तथा सञ्चार मन्त्रालय रिक्त छन् ।
दुवै मन्त्रालयमा को को आउँछन् ? अहिले नै भन्न सक्ने अवस्था छैन । किनभने प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने अडान राखेका छन् ।
प्रधानमन्त्री ओलीले किन यस्तो अडान राखे भन्ने विषयले नेकपामा तरंग सिर्जना भएको छ । खासगरी आफूलाई कमजोर बनाउने खेल पुष्पकमल दाहाल प्रचण्डले खेलिरहेको रहस्य थाहा पाएपछि ओली झस्केका छन् ।
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई अगाडि सारेर आफूलाई निकै कमजोर मात्र होइन, आफू निकट नेताहरूलाई पाखा लगाइने खेल आरम्भ भएको सूचना ओलीले पाएका छन् । वामदेवलाई सांसद बनाइसकेपछि उनले सरकारमा दाबी गर्नेछन् ।
जसलाई उनले पहिले नै सार्वजनिक गरिसकेका छन् । उनलले सञ्चार मन्त्रालयमा मात्रै चित्त बुझाउने सम्भावना छैन । अर्थ मन्त्रालय उनको सामथ्र्यको कुरा होइन । एमसीसीलगायत धेरै कार्यव्यवस्थाका कारण खतिवडालाई सल्लाहकार बनाउने गरी अर्थ मन्त्रालय प्रधानमन्त्री ओलीले नै राख्ने निश्चित छ ।
यसका लागि प्रधानमन्त्री ओलीले खतिवडालाई बचनसमेत दिइसकेको समाचार बाहिर आइसकेको छ । गौतमलाई चित्त बुझाउनका लागि पनि ओलीले अर्थबाहेक कुनै अर्को मन्त्रालय रोज्न लगाउने छन् । गौतमले स्वतः गृह मन्त्रालय रोज्नेछन् ।
पार्टी अध्यक्ष प्रचण्डले गौतमलाई गृह मन्त्रालय रोज्न अभिप्रेरित गर्नेछन् । आफ्नो साथ छाडेर ओलीतिर गएको बदला गृहमन्त्री रामबहादुर थापा बादलसँग लिन प्रचण्डलाई हतार भइसकेको छ ।
यो अवस्थामा ओलीले बादललाई पनि गुमाउनु पर्नेछ । प्रचण्डले बादललाई कसरी तह लगाउने भन्ने खेल निकै अघिबाट सुरु गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।