आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना रिपोर्ट : स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएपछी

कोरोना रिपोर्ट : स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएपछी

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 6.2K
    SHARES

  • कोरोना रिपोर्ट :   स्वास्थ्य मन्त्रालयले यस्तो  निर्देशन दिएपछी

    काठमाडौँ- कोरोना संक्रमितहरुले आफूलाई संक्रमण रहेको औपचारिक सूचना निकै ढिला मात्रै प्राप्त गर्ने गरेको देखिएको छ । शंका लागेर कोरोना परीक्षण गराएकामध्ये नेगेटिभ रिपोर्ट आएकाले तत्काल खबर प्राप्त गर्ने भए पनि पोजिटिभ रिपोर्ट आएकाले भने केही दिनपछि मात्रै औपचारिक जानकारी पाउने गरेका छन् ।

    कान्तिपुरसँग सम्पर्कमा आएका केही संक्रमितका अनुसार उनीहरुले आफ्नो रिपोर्ट पोजिटिभ आएको सूचना परीक्षण गराएको थोरैमा पनि ३र४ दिनपछि मात्रै प्राप्त गरेको दाबी गरेका छन् ।

    यस्तै केही संक्रमितलाई भने रिपोर्ट पोजिटिभ आएको १० दिनसम्म पनि कहीं, कतैबाट औपचारिक जानकारी नगराइएको समेत भेटिएको छ । संक्रमितहरुले आफ्नो रिपोर्ट समयमा थाहा नपाउने त छँदै छ, उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा समेत सम्बन्धित संस्थाहरु उदासीन रहेको देखिएको छ ।

    यस्तै घटनामध्येको एक उदाहरण हो– मेडिकेयर अस्पतालमा निधन भएका एक व्यक्तिका परिवारको । मेडिकेयर अस्पतालमा उपचारक्रममा सोमबार बिहान एक संक्रमितको निधन भयो ।

    शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएका उनलाई इमर्जेन्सीबाट तुरुन्तै आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर, उनमा कोरोना संक्रमण रहेको औपचारिक रिपोर्ट भने उनको निधनपछि मात्रै प्राप्त भयो । त्यसपछि अस्पतालले उनको शव नेपाली सेनालाई सद्गत गर्नका लागि जिम्मा दिएको थियो ।

    ती व्यक्तिको निधन भएको आइतबार सात दिन पुगे पनि हालसम्म न उनको परिवारलाई कुनै सरकारी संयन्त्रले सम्पर्क गरेको छ न कन्ट्याक्ट ट्रेसिङ नै गरेको छ । उनीहरु आफैं सचेत भएर परीक्षण गराउँदा परिवारका ७ सदस्यमा संक्रमण देखिएको छ ।

    सातमध्ये एक जना अझै पनि औपचारिक रिपोर्टको पर्खाइमा छन् । रिपोर्टको पर्खाइमा रहेका उनलाई कोरोना परीक्षणका लागि नमुना दिइएको अस्पतालले रिपोर्ट शंकास्पद देखिएकाले आइसोलेट भएर बस्न भने पनि रिपोर्ट दिएको छैन ।

    ‘निधन भएको व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि म सिधा सम्पर्कमा आएकाले आफैं आइसोलेट भएर बसें, हामी सबैले विभिन्न मितिमा कोरोना परीक्षण पनि गरायौं,’ निधन भएका व्यक्तिका परिवारका एक सदस्यले भने, ‘हामीलाई कन्ट्याक्ट ट्रेसिङमा परेकाले परीक्षण गर्नुस् भनेर कसैले पनि भनेन ।’

    उनका अनुसार उक्त परिवारका केही सदस्यले बुधबार एक निजी प्रयोगशालामा परीक्षण गराएका थिए भने केहीले बिहीबार पाटन अस्पतालमा परीक्षण गराएका थिए ।

    निजी अस्पतालमा परीक्षण गराएकामध्ये ६ जनालाई कोरोना पोजिटिभ रहेको औपचारिक जानकारी शनिबार इमेलमार्फत गराइएको थियो । अर्का एक सदस्यलाई भने आइतबार साँझ रिपोर्ट पोजिटिभ आएको भन्दै स्वास्थ्य मन्त्रालयले फोन गरेको थियो । कान्तिपुर दैनिकमा स्वरुप आचार्यले खबर लेखेका छन् । 

    ‘मैले दिउँसो तपाईंहरुसँग सम्पर्क गर्दासम्म कसैले केही भनेको थिएन तर अहिले मन्त्रालयबाट फोन आयो,’ उनले भने, ‘मलाई बाँकी कुरा भोलि स्थानीय निकायले फोन गरेर सुझाउने बताइएको छ । जबकि म गत आइतबारदेखि नै आइसोलेसनमा छु ।’ ती संक्रमितका अनुसार उनका परीवारका सबै सदस्यले आफैं पैसा तिरेर परीक्षण गराएका हुन् । त्यसमा कहीँ कतैबाट पनि सहयोग र सहुलियत प्राप्त भएको छैन ।

    ‘खोइ, कन्ट्याक्ट ट्रेसिङमा परेकाको त निस्शुल्क परीक्षण गर्ने भन्ने मापदण्ड छ क्यारे,’ उनले भने, ‘हाम्रो परिवारलाई न कसैले सोधखोज गर्‍यो न परीक्षण गराउनुभयो कि भएन भनेर नै सोध्यो ।’

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा। वासुदेव पाण्डेले कसैले व्यक्तिगत वा संस्थागत रूपमा परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आए परीक्षण गर्ने प्रयोगशालाले आफूहरुलाई पहिला जानकारी गराउनुपर्ने स्वीकार गरे ।

    ‘रिपोर्ट पोजिटिभ आए प्रयोगशालाले हामीलाई जानकारी गराउनुपर्छ, चाहे त्यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला होस् या अन्य कुनै,’ उनले भने, ‘यसरी पोजिटिभ भनेर विवरण प्राप्त भएपछि हाम्रो टोलीले व्यक्तिलाई सम्पर्क गरेर जानकारी गराउँछ । कसैको हकमा केही कारणले गर्दा ढिला भएको हुन सक्छ । सबैको हकमा त्यस्तो भएको छ भन्ने मलाई लाग्दैन ।’

    उनले यसो भनिरहँदा एक निजी प्रयोगशालाका सञ्चालककले १० दिनअघि पोजिटिभ रहेको भनी सूचना दिइएका व्यक्तिलाई हालसम्म पनि औपचारिक जानकारी नगराएको भन्दै आफूकहाँ गुनासो आएको दाबी गरिरहेका थिए । ‘हामीले त नमुना संकलन गरेर लगभग २४ घण्टा नै प्रयोगशालामा परीक्षण गरिरहेका छौं । ईडीसीडीले पनि त त्यसैअनुसार काम गर्नुपर्‍यो नि,’ उनले भने, ‘नमुना दिएर रिपोर्ट पर्खंदा मानिसले धेरै सचेतता अपनाउँदैन, जति रिपोर्ट पोजिटिभ छ भन्ने सूचना पाएपछि गर्छ । त्यसैले समयमै रिपोर्टबारे जानकारी दिनुपर्छ ।’

    ती प्रयोगशाला सञ्चालकको तर्कमा एक संक्रमित सहमत देखिए । ‘म एक्सपोज भएको छु भनेर मलाई गत आइतबार थाहा भयो । त्यसपछि म सेल्फ आइसोलेसनमा बसें र एक्सपोज भएको ७ दिनपछि मात्रै परीक्षण गराउन गएँ । त्यो अवधिमा घरमा मास्क लगाएर बसे पनि अन्य परिवारका सदस्यको सम्पर्कमा थिएँ,’ उनले भने, ‘म आफूलाई त किन लाग्छ र भनेजस्तै लाग्थ्यो तर शुक्रबार अनौपचारिक रूपमा भए पनि संक्रमित हुँ भन्ने थाहा पाएपछि पूर्ण आइसोलेसनमा बसेको छु र परिवारका सदस्यले पनि परीक्षण गराएका छन् ।’

    ‘पोजिटिभ आए रिपोर्ट दिन समस्या छ’

    कोरोना परीक्षणको अनुमतिप्राप्त गर्ने निजी अस्पतालमध्येको एक स्टार अस्पतालका निर्देशक डा: शैल रुपाखेतीका अनुसार रिपोर्ट पोजिटिभ आएका संक्रमितलाई ईडीसीडीले औपचारिक जानकारी नगराएसम्म केही पनि नभन्न स्वास्थ्य मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ ।

    ‘हामीलाई मन्त्रालयले कुनै पनि हालतमा पोजिटिभ देखिएका संक्रमितलाई ईडीसीडीलाई भन्दा अगाडि जानकारी नदिन कडा निर्देशन दिएको छ,’ उनले भने, ‘हामीले त्यसको पालना गर्ने गरेका छौं तर त्यसमा व्यावहारिक कठिनाइ भने हुन्छ ।’

    यस्तै कोरोना परीक्षण गर्ने ह्याम्स अस्पतालले पनि मन्त्रालयले चुप लाग्न निर्देशन दिएकाले धेरै व्यावहारिक कठिनाइ भोग्नुपरेको बताएको छ । अस्पतालका निर्देशक डा। ज्योतिन्द्र शर्माका अनुसार शुल्क तिरेर परीक्षण गराएकाले आफ्नो रिपोर्ट माग्न आउँदा दिन मिल्दैन भन्न निकै अप्ठेरो हुने गरेको बताए ।

    ‘पैसा तिरेर तपाईंकहाँ परीक्षण गराएको रिपोर्ट हो, दिनुस् भन्छन् । हामी शंकास्पद छ, मन्त्रालयले नै जानकारी गराउँछ भन्छौं । कतिले कुरा बुझ्छन्, कतिले बुझ्दैनन्,’ उनले भने, ‘अस्पतालमा भर्ना भएका बिरामीको हकमा भने ईडीसीडीसँग मौखिक सहमति लिएरै जानकारी दिने गरेका छौं ।’

    हाल सबैभन्दा सस्तोमा कोरोना परीक्षण गरिरहेको विध ल्याबका सञ्चालक बीके भण्डारीले आफूहरुले संक्रमितहरुको प्रोफाइलिङ गर्ने गरेकाले सोही आधारमा केही बिरामीलाई पहिल्यै सूचना दिने गरेको बताए ।

    ‘प्रोफाइल हेर्दा लुक्न सक्ने संक्रमित हो जस्तो लाग्यो भने ईडीसीडीले जानकारी नगराएसम्म रिपोर्ट दिँदैनौं, होइन भने हाम्रो काउन्सिलिङ युनिटले फोन सम्पर्क गरेर जानकारी दिन्छ,’ उनले भने, ‘मन्त्रालयले निर्देशन नभन्नु भन्ने नै हो ।

    तर, व्यावहारिक पाटो पनि त हेर्नुपर्‍यो नि † आखिर परीक्षण गर्नुको लक्ष्य त संक्रमण फैलन नदिने नै हो । समयमा जानकारी प्राप्त नभएरै संक्रमण फैलिन्छ भने परीक्षणको के अर्थ ?’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७०५:२६:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend