काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको र अब केही वर्षमा कसैले पनि रोजगारीका लागि विदेश जानु नपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै ओलीले भने, ‘३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन। हाल २६ लाख युवा बाहिर छन् । त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं। हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो,।’
‘बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ। म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस्। सरकार तपाईंहरुको साथमा छ।’ उनले भने ।
ओलीले सामाजिक जागरण र नीति-निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको बताएका छन । ‘बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन। उत्पादनमा सहभागिता हुने भएन। उनीहरू भविष्यका कर्णधार हुन्। उनीहरूलाई सक्षम बनाउनुपर्छ। सुरक्षामा ध्यान दिनुपर्छ। युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन्। त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन्, उनले भने ।
'त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन्। अझ बढाउन जरुरी छ। बढाउँदा सन्तुलनकारी ढङ्गले नै बढाउनुपर्छ। पुरानो र नयाँ पुस्ता मिलेर नै क्षमता, अनुभव र सामर्थ्य, सबै चिजको सम्पूर्ण रूपमा प्रयोग गरेर अघि बढ्नुपर्छ।’ प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक सम्पदा, स्रोत-सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।