काठमाडौं– कांग्रेसका तीन सांसदले गोरखा लगायत चीनसँग सीमाना जोडिएको स्थानका सीमा स्तम्भ हराएको भन्दै दर्ता गरेको संकल्प प्रस्ताव फिर्ता नलिने भएका छन्।
कांग्रेसका तीन सांसदले असार १० गते संसदमा संकल्प प्रस्ताव दर्ता गरेका थिए। नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कँडेल, सञ्जय कुमार गौतम र सत्यनारायण शर्मा खनालले नेपाल र चीनको सीमाका स्तम्भहरू गायब भएको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
तीन सांसदले परराष्ट्रमन्त्रीसँग जवाफ माग्ने गरी नेपालको निशान छापमा अंकित नेपालको नक्सा र चीनबीच रहेको सीमाको भूगोल र सीमा स्तम्भहरू हराएको, अतिक्रमणमा परेको भन्दै प्रस्ताव पेश गरेका थिए।
उनीहरुले माग गरेझैँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले विभिन्न ठाउँमा जवाफ दिइरहेका छन्, ‘चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन।’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर यसबारे सरकारको धारणा सार्वजनिक गरिसकेको छ।
यद्यपी परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा जवाफ दिन बाँकी नै छ। चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा एउटा प्रतिवेदन सार्वजनिक भएको थियो।
कृषि मन्त्रालयको नाममा जारी त्यो प्रतिवेदनमा चीनले नेपाली भूमि अतिक्रमण गरेको उल्लेख थियो। सरकारले त्यो प्रतिवेदन सरकारी प्रतिवेदन नभएको प्रष्ट पारिसकेको छ। संकल्प प्रस्ताव दर्ता गर्ने मध्येका एक सांसद देवेन्द्रराज कँडेलले सरकारले नक्कली प्रतिवेदन कसले तयार सार्वजनिक गरेको हो त्यो बारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।