काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला चेतावनी दिँदै विभिन्न १० वामपन्थी पार्टीले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता खारेजीको माग गरी देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।
विभिन्न दलले निकालेको संयुक्त विज्ञप्तिमा एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीतिसमेत समाप्त हुने दाबी गरिएको छ ।
प्रधानमन्त्री ओली भने जसरी पनि एमसीसी पारित गरेर कार्यान्वयन गर्ने पक्षमा रहेका छन् । एमसीसी पास भए नेपाल अमेरिकाको सैन्य रणनीतिको अंग बन्न भन्दै उनीहरूले एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दाबी निराधार र हाँस्यास्पद भएको बताएका छन् ।
एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा बृहत्तर राष्ट्रिय हितविरुद्ध भएको ठहर गर्दै त्यसलाई खारेज गर्नुपर्ने उनीहरूको माग छ ।
‘एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीति अन्तर्गतको कार्यक्रम हो । त्यो कुरालाई स्वयं अमेरिकाका विभिन्न सुरक्षा निकाय, मन्त्री तथा काठमाडौंस्थित अमेरिकी दूतावासले पनि सार्वजनिक रूपमा नै स्वीकार गरिसकेका छन् । त्यो अवस्थामा उक्त एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दाबी निराधार र हाँस्यास्पद छ । एमसीसीको उद्देश्य हिन्द प्रशान्त क्षेत्रका सबै देशहरूलाई आफ्नो सैन्य रणनीतिका पक्षमा लैजाने र चीन विरुद्धको मोर्चाबन्दीमा ती सबै देशहरूलाई सामेल गर्ने हो,’ विज्ञप्तिमा भनेका छन्, ‘एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकाको सैन्य रणनीतिको अंग बन्न पुग्नेछ ।’
विज्ञप्ति निकाल्नेमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र, सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जनजागरण परिषद र केदारचन्द्र शर्मा नेतृत्वको नेकपा संयुक्त छन् । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक लोकनारायण सुवेदीले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।