काठमाडौं – लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सालाई संविधानको निशान छापमा समावेश गर्ने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई संसदको कार्यसूचीबाट हटाउनुमा कांग्रेसको दोष रहेको भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कार्यकर्ताले प्रचार गरिरहेका छन् ।
नेकपाका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसको अनुरोधमा संविधान संशोधन प्रस्ताव कार्यसूचीबाट हटेको भनेर सामाजिक सञ्जालमै लेखेका छन् । यसरी कांग्रेसलाई बदनाम गर्न खोजिएपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गम्भीर आपत्ति जनाएका छन् ।
उनले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै संसदको कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोप लगाउनु खोज्नुलाई गम्भीरतापूर्वक दिएको जनाएका छन् ।
‘संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरू एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नेतर्फ लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यसबारेमा आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘नेपाली कांग्रेस संसदीय दल यस्तो प्रवृत्तिको निन्दा गर्दै गम्भीर राष्ट्रिय एकताको भावना साथ कार्य गर्न सरकारलाई अपील र आग्रह गर्दछ ।’
यस्तो छ कांग्रेसको विज्ञप्ति –

प्रतिनिधि सभाको बुधवारको सम्भावित कार्यसूचीमा नेपालको नयाँ नक्सा समेटिएको निशान छाप राख्ने सम्बन्धी संविधान संशोधन प्रस्ताव पेश हुने उल्लेख भएपनि अन्तिम समयमा प्रस्तावलाई कार्यसूचीबाट हटाइएको थियो । सामान्यतया संसद बैठक हुने अघिल्लो दिन नै सम्भावित कार्यसूची प्रकाशित हुन्छ । यस्तो कार्यसूची सभामुखसँगको परामर्शमा संसद सचिवालयको कार्यव्यवस्था शाखाले निकाल्ने गर्छ ।
बुधवारको बैठकअघि नै कार्यसूचीमा रहेको कानूनमन्त्रीले संविधान संशोधन विधेयक पेश गर्ने विषय हटेपछि विवाद चर्किएको छ । स्रोतका अनुसार बैठकको केही घण्टाअघि सभामुखले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँगको परामर्शमा संविधान संशोधन विधेयक पेश गर्ने विषय कार्यसूचीबाट हटाएका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत् संविधान संशोधन विधेयक संसदमा पेश नुहुनको दोष कांग्रेसमाथि लगाइएकोमा आपत्ति जनाएका छन् । ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने,’ शर्माले ट्विटमा लेखेका छन्, ‘को गर्दैछ षड्यन्त्र ? प्रधानमन्त्रीले प्रक्रिया सुचारु गर्नुहोस् । केन्द्रीय समिति बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रूपले दृढ छौं/रहन्छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।