काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र केही मन्त्री सहभागी बैठकमा ओली आफैं उपस्थित थिएनन् । तर बैठकमा गरमागरम बहस भयो ।
ओली उपस्थित नभएकाले नेकपा सचिवालय बैठक केवल अनौपचारिक छलफलमा सीमित भयो । बैठकमा घोचपेच समेत देखियो ।
अनौपचारिक बैठकको अध्यक्षता नगरेपनि सञ्चालन भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गरेका थिए । अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे एमसीए नेपालको प्रस्तुतीबाट सुरू भएको अनौपचारिक बैठक केही नेताहरूको सामान्य जिज्ञासापछि पहिलो चरण सकिएको थियो ।
नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्ट बाहिरिएपछि नेताहरूबीच एमसीसी परियोजना र बजेटमा केन्द्रित रहेर केहीबेर छलफल भएको स्रोतले जनाएको छ ।
बजेटको प्रसङ्ग आउने बित्तिकै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै बनाइसकेर सुझाव लिनुको कुनै औचित्य नरहेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई शाब्दिक झापड हानेर छलफल स्थगित गर्न माग गरे ।
‘बजेट बनाइसकेपछि औपचारिकता मात्र पूरा गर्न हामीलाई बोलाएर सुझाव माग्नुको के अर्थ छ ?’ श्रेष्ठले बैठकमा भने, ‘सबै कार्यक्रम बनाइसकेर अंक (रकम बाँड्न) मात्र राखेपछि अब छलफल गरौं भनेर हामीलाई किन बोलाउनु ?’
श्रेष्ठले त्यसरी आपत्ति जनाएपनि उपाध्यक्ष वामदेव गौतमले एकसरो सुझाव दिन भ्याए । ‘आर्थिक वर्षको बजेट कृषि केन्द्रित ल्याउनुपर्छ,’ गौतमले सुझाव दिँदै भने, ‘देशभरका खाली जग्गा खोजेर सरकारले भाडामा लिनुपर्छ, त्यहाँ माटो अनुसारको उत्पादन हुने गरी खेती गर्नका लागि सरकारले आवश्यक बजेट छुट्याउनुपर्छ ।’
गौतमबाहेक सचिवालय बैठकमा अन्य नेताहरूले बजेटमा सुझाव दिन आवश्यक नै ठानेनन् । गत जेठ ६ गते नीति तथा कार्यक्रमका लागि पनि नेकपाको सचिवालय बैठक बिहान केहीबेर बसेपछि साँझ संसदमा प्रस्तुत भएको थियो ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र श्रेष्ठ सहितका नेताले नीति तथा कार्यक्रममा लिम्पियाधुरासम्मको भारतले अतिक्रमित गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।