काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) का कर्मचारी छिरेका छन् ।
एमसीसीको पक्षमा खुलेरै लागेका प्रधानमन्त्री ओली भने बैठकमा सहभागी नभएको बालुवाटार स्रोतले जनाएको छ । एमसीसीबारे भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेका छन् ।
अनौपचारिक भनिएको छलफलमा एमसीसी कार्यदलका सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल, नेताद्वय देव गुरुङ र लिलामणि पोखरेलका साथै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट सहभागी भएका छन् ।
छलफलमा नेकपाको एमसीसी कार्यदलका संयोजक खनाल र रावलले इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत हो भने मान्य नहुने र सम्झौता संशोधन नगरी संसदबाट पास गर्न नहुने स्पष्ट धारणा राखेका छन् । कार्यदलका अर्का सदस्य ज्ञवालीले सहमति भइसकेको सम्झैता अस्वीकार गर्न नमिल्ने तर्क राखेका छन् ।
एमसीसीबारे नेकपा पार्टीभित्रै विवाद र फरक–फरक मत रहेका बेला पार्टीको किचलोमा एमसीएका कर्मचारीलाई सहभागी गराइएको थियो ।
एमसीसीको छलफल सकिएपछि बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटबारे ब्रिफिङ गरेका छन् । उनले नयाँ कार्यक्रम नआउने तथा नीति कार्यक्रमअनुसार कोरोना भाइरस र त्यसले निम्त्याएको संकटलाई सम्बोधन गर्ने बजेट ल्याउने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।