काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरूले कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अघि बढाउनेसम्बन्धी १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ। त्यस्तै, नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ तय गरिएको छ।
दुवै पार्टीले शान्तिपूर्ण आन्दोलनलाई प्रमुख बाटोका रूपमा अघि बढाउने र सडक, संसद् तथा सरकारलगायत सबै मोर्चालाई राजनीतिक आन्दोलनका रूपमा उपयोग गर्ने रणनीति लिएका छन्।
तत्कालका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासनको प्रवर्द्धन र सामाजिक न्यायसहित आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखिएको छ। यी कार्यमार्फत समाजवादको आधार तयार पार्ने लक्ष्यसमेत सहमतिपत्रमा उल्लेख गरिएको छ।
मङ्सिर मसान्तभित्र सङ्गठनात्मक एकता
दुई पार्टीबीच भएको सहमतिअनुसार आगामी मङ्सिर मसान्तभित्र सबै तहका पार्टी कमिटी तथा जनसङ्गठनहरूको एकता प्रक्रिया टुङ्ग्याइनेछ। सङ्गठनात्मक समायोजनलाई निर्धारित समयभित्र सम्पन्न गरी एकीकृत पार्टीको संरचनालाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
त्यस्तै, स्थानीय तहको आगामी निर्वाचन सम्पन्न भएपछि एकीकृत पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति भएको छ।
महाधिवेशनअघि नै आपसी सहमतिका आधारमा केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय सचिवालयलगायतका पार्टी संरचना गठन तथा सञ्चालन गरिने सहमतिपत्रमा उल्लेख छ।
दुवै पार्टीबीच भएको १० बुँदे समझदारीले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने दिशामा औपचारिक प्रक्रिया अघि बढाएको छ। अब सहमतिअनुसार सङ्गठनात्मक समायोजन, नेतृत्व व्यवस्थापन र महाधिवेशनको तयारीले एकता प्रक्रियाको आगामी दिशा तय गर्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।