काठमाडौँ - कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा लगातार वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार यो मनसुनी वर्षा आगामी तीन दिनसम्म नै कायमै रहने सम्भावना रहेको छ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले मौसम पूर्वानुमानअनुसार आजदेखि भदौ २४ गतेसम्म यस क्षेत्रका हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहने जानकारी दिएका छन्। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज विशेषगरी पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
कार्यालय प्रमुख साहका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहनुका साथै पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने अनुमान गरिएको छ।
यसैगरी, आगामी मङ्गलबार वर्षाको दायरा केही हदसम्म घट्ने देखिए पनि मौसम पूर्णरूपमा खुल्ने छैन। मङ्गलबार हिमाली तथा पहाडी क्षेत्रका थोरैदेखि धेरै स्थानमा र तराईका केही क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना कायम रहनेछ भने मङ्गलबार राति तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्न सक्ने र बाढीपहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम तथा बाढी पूर्वसचेतना निकायले सबैमा अनुरोध गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।