काठमाडौं - सोमबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुर विभिन्न स्थान डुबानमा परेका छन् ।
उपत्यकाका नदी खोलाहरुमा बाढी आएको छ । बागमती तथा विष्णुमती जलाधार क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
विष्णुमती र बल्खु खोला, मनोहरालगायतमा जल सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भारी वर्षाका कारण गौरीघाट, गुहेश्वरी, शान्तिनगर, कपन, सामाखुसी, अनामनगर, शंखमूल, बल्खुलगायतका क्षेत्र डुबानमा परेका छन् । नदीनजिक रहेका बस्तीमा अहिले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
भीषण वर्षापछि काठमाडौं आउने सबै राजमार्ग ठप्प भएका छन् । ठाउँठाउँमा पहिरो जाँदा सवारीसाधन नचलेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँका अनुसार मकवानपुरको बागमती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु र ६ जना वेपत्ता भएका छन् ।
नेता बानियाँले यो दुःखद खबरले मर्माहत बनाएको जनाएका छन् । ‘दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, वेपत्ताहरूको खोजी र उद्धारमा यथाशीघ्र लाग्न सम्बन्धित निकायसंग आग्रह गर्दछु । निरन्तर वर्षा भइरहेको र बाढीपहिरोको जोखम उच्च रहेकाले सचेत रहन सबैमा आग्रह गर्दै विपत्तिमा राहत र उद्धारमा खटिन प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजसंग हार्दिक अनुरोध गर्दछु,’ बानियाँले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।