काठमाडौं । प्रधानमन्त्री शुसिला कार्की र उर्जामन्त्री कुलमान घिसिङबीच पछिल्ला दिनमा सुरु भएको मतभेद सार्वजनिक रुपमा पोखिन थालेको छ । उर्जामन्त्री घिसिङले ‘वृद्ध नेतृत्व’ लक्षित टिप्पणी गरेलगत्तै प्रधानमन्त्री कार्कीले ती अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको उनका सहयोगीहरूले बताएका छन् ।
सरकारमा चार मन्त्रालयको जिम्मेवारी पाएका घिसिङले परिणामुखी काम गर्न नसकेको, मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रक्रिया पनि घिसिङकै कारण रोकिएको लगायतका विषयमा प्रधानमन्त्री कार्कीले आन्तरिक बैठकहरूमा असन्तुष्टि जनाउन थालेकी छन् । परिणाममुखी काम हुन नसकेको र योजनागत ढिलाइ बढेको विषय पनि कार्कीले बारम्बार औँल्याउँदै आएकी थिइन् । यही असन्तुष्टिपछि घिसिङले प्रधानमन्त्री कार्कीलाई लक्षित गर्दै खुलेआम टिप्पणी गर्न थालेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
बुधबार ‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभामा बोल्दै मन्त्री घिसिङले प्रधानमन्त्री कार्कीलाई लक्षित गर्दै वृद्ध नेतृत्वले देशलाई गति दिन नसक्ने टिप्पणी गरे । उनले भने, “७०–८० वर्षको बुढासँग अनुभव त हुन्छ, तर हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, दिमाग पनि चल्दैन । त्यस्तो नेतृत्वलाई देश सुम्पेर हुँदैन ।” जेनजी आन्दोलनपछि पनि वृद्धकै हातमा देश गएकोप्रति लक्षित गर्दै “सही उमेर समूह, उर्जा, क्षमता र इच्छाशक्ति भएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने बताएका हुन् ।
साढे दुई महिनाको मन्त्री कार्यकालमा आफूले “काम गर्न नपाएको” गुनासो गरेका छन् । प्रधानमन्त्रीसँग चर्किएको मतभेद, सार्वजनिक टिप्पणी, मन्त्रिपरिषद् भित्रको असहज वातावरण र नीति कार्यान्वयनमा देखिएको असन्तुष्टिले घिसिङ सरकार छाड्ने तयारीमा रहेको बताइएको छ। यद्यपि घिसिङले आधिकारिक रूपमा केही नबोले पनि आफू निकट व्यक्तिहरुलाई “राजीनामाको विकल्प” बारे सोचिरहेको बताउने गरेका छन् । सरकारमा बसिरहँदा आगामी निर्वाचनसम्म थप काम गर्न नसकेको ट्याग भिर्नपर्ने भयले पनि उनी सरकारबाट बाहिरिने बारे छलफलमा रहेको बताइएको छ । घिसिङको अभिव्यक्ति प्रधानमन्त्रीमाथि व्यक्तिगत प्रहारका रूपमा व्याख्या गरिएको छ । सरकारभित्रै स्वतन्त्र र निर्णायक नेता मानिँदै आएका घिसिङ र प्रधानमन्त्री कार्कीबीचको यस्तो टकरावले सत्तागठबन्धनभित्र तनाव बढेको सरकारी अधिकारीहरुले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।