अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो ।
अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको बताएका छन् । अग्नि नियन्त्रकहरूले हेलिकप्टर र दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगो फैलिएको क्षेत्रमा दुई सय ५० को सङ्ख्यामा विमान र दमकल परिचालन गरिएको छ । तर सुक्खा र एक सय ६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझै फैलिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र हावाले अन्त पनि डढेलो फैलिन सक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
यसअघि मानिसहरू सुरक्षित ठाउँमा जाने प्रयास गर्दा ठाउँठाउँमा गाडीको आवागमन प्रभावित भएको थियो । कतिपयले आफ्नो गाडी छाडेर भागेका छन् । सान्टा आना नामक शक्तिशाली हुरीले डढेलोलाई तीव्र गतिमा फैलाएको खबरमा उल्लेख छ । डढेलोको जोखिम अझै उच्च भएकाले चेतावनी जारी गरिएको छ ।
विगत केही वर्षयता अमेरिकामा डढेलोको आकार र अवधि बढेको पाइएको छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिरहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा अहिलेसम्मकै खराब डढेलो लागेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।