काठमाडौं - राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत कोशी प्रदेशमा माघ ११ गते भएको चुनावमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि गठबन्धनमा हलचल मच्चिएको छ ।
हालै बसेको सत्ता गठबन्धनको बैठकमा पनि यो विषयले निकै ठूलो तरंग ल्याएको थियो । स्वयं माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि गठबन्धनको उम्मेदवारलाई भोट नदिई एमालेकी रुक्मिणी कोइरलालाई जिताएकोमा असन्तुष्ट छन् ।
माओवादी नेताहरूको दबाब प्रचण्डले थेग्न सकेका छैनन् । माओवादी नेताहरू कांग्रेससँगको सहकार्यमा गम्भीर समीक्षा गर्नुपर्ने बताउन थालेका छन् । कोशीको निर्वाचन परिणामले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसको हातबाट फुत्किने सम्भावना पनि देखिएको छ ।
कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने रणनीतिअनुसार उनलाई उम्मेदवार बनाइएको थियो । तर अहिले माओवादीले खोंचे थापेको छ । माओवादीले खोचें थापेमा सिटौला न राष्ट्रिय सभा अध्यक्ष, न मन्त्री नै बन्न पाउँछन् । संविधानले नै सिटौलालाई मन्त्री बन्न रोक लगाउने कानुनविद्हरु बताउँछन् । संविधानको ‘धारा ७८ (४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्ता प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन’ भन्ने लेखिएको छ ।
सिटौला २०७९ को निर्वाचनमा झापा–३ बाट राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनसँग पराजित भएका थिए। लिङ्देनले ४० हजार ६६२ मत पाउँदा सिटौलाको भागमा ३७ हजार ३८६ मत परेको थियो। यही कारण सिटौला यो प्रतिनिधिसभा रहुन्जेल मन्त्री बन्न नपाउने संविधानविद्हरू बताउँछन्।
कांग्रेसका केही नेता सत्ता गठबन्धनमा समझदारी भइसकेकोले सिटौला राष्ट्रिय सभा अध्यक्ष नै हुने ठोकुवा गरिरहेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सिटौलाका हकमा ‘राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रस्ट अस्वीकार्य’ भनेका थिए। विराटनगरमा पुस २३ गते भएको कांग्रेसको एक कार्यक्रममा विश्वप्रकाशसँगै शेखर कोइरालाले पनि अबको राष्ट्रिय सभा अध्यक्ष सिटौला भनेर ठोकुवा गरेका थिए।
तर, राष्ट्रिय सभा चुनावको नतिजा आइसकेपछि भने माओवादीले समेत त्यस पदमा दाबी गरेको छ। प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि आफ्नो पार्टी संवैधानिक परिषदमा प्रतिनिधित्वविहीन हुने भएकाले पनि राष्ट्रिय सभाको अध्यक्ष आफैले पाउनुपर्ने दाबी माओवादी नेताहरूले गरेका छन्।
यदि राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नै पायो वा कांग्रेसबाहिर गयो भने के हुन्छ त ? सिटौलाले के पाउँछन् ? अहिले यही नै भन्न सकिने अवस्था छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।