काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गते भएको नारायणहिटी हत्याकाण्डबारे पहिलोपटक मुख खोलेका छन् । आफ्ना दाजु वीरेन्द्र शाहको सपरिवार हत्या भएको हत्याकाण्डसँग आफ्नो नाम जोडेर टीकाटिप्पणी भएकोमा उनले गुनासो गरेका छन् ।
शनिबार वीरगन्जमा आयोजित नागरिक सम्मान कार्यक्रममा उनले दरबार हत्याकाण्डपछि ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको’ दाबी गरे ।
दरबार हत्याकाण्ड भएको २२ वर्ष बितिसक्दा पनि यस विषयमा उनले कहीँकतै कुनै कुरा उल्लेख गरेका थिएनन् । तर पछिल्लो समय राजनीतिक सक्रियता देखाएका उनले राजनीतिक अभिव्यक्ति पनि दिन थालेका छन् ।
‘आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैंले आफ्नो दायित्व निर्वाह गरेँ। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ ।‘ २०५८ जेठ १९ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो,’ उनले भने ।
पूर्वराजा शाहले परिवर्तनपछिको व्यवस्था र राजकाजप्रति तीव्र असन्तोष प्रकट गर्दै जनतामा चरम निराशा छाएको दावी पनि गरेका छन्। बितेका १५ वर्षपछि आज असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको दावी गर्दै उनले आफ्नो गरिमापूर्ण राजपाठबाट त्याग्दा आफूले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको उनको भनाइ थियो ।
‘त्यसै आशयअनुरुप मैले चिरकालपर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ,’ उनले भने । नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्षपछि पूर्वराजाको यस्तो अभिव्यक्तिले घटना थप रहस्यमय बनाउँदै लगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।