काठमाडौं - भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा श्रीरामको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राष्ट्रिय स्वयं सेवक संघका प्रमुख मोहन भागवतसहित विशिष्ट व्यक्तिको उपस्थितिमा वैदिक विधि र मन्त्रोच्चारणका साथ प्राण प्रतिष्ठा सम्पन्न भएको हो । पूजाको नियमअनुसार भारतीय प्रधानमन्त्री मोदीले नियमको पालना गरी प्राण प्रतिष्ठा पूजा गरेका हुन् ।
उनले ११ दिनदेखि नरिवलको पानीमात्र पिएर भुइँमा सुतेर अनुष्ठान गरेका थिए । मोदी यी दिनमा जहाँ जहाँ गए पूर्ण अनुष्ठानको पालना गरेका थिए । राम मन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुला गरिनेछ ।
राम मन्दिरको गर्भगृहमा प्राण प्रतिष्ठा भएको रामललाको मूर्ति पाँच वर्ष उमेरको रहेको छ । यो ५१ इन्च अग्लो मूर्ति रहेको छ । त्यस्तै कालो रंगको छ ।
प्राणप्रतिष्ठा समारोहमा करिब आठ हजार पाहुना आमन्त्रित गरिएका छन् । समारोहमा प्रबुद्ध राजनीतिज्ञ, उद्योगपति, फिल्म कलाकार, खेलाडी, कूटनीतिज्ञ, न्यायाधीश र पण्डितहरु सहभागी छन् ।
दिउँसो २ बजेदेखि ७ बजेसम्म अतिथिहरुले भगवान् रामको दर्शन गर्नेछन् । पूर्वराष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणीलगायत पनि सहभागी भएका छन् ।
भारतीय कलाकारहरु पनि सहभागी भएका छन् । अभिनेता अमिताभ बच्चन पुत्र अभिषेक बच्चनका साथ अयोध्यामा रहेका छन् ।
त्यसैगरी विकी कौशल, कटरिना कैफ, रणवीर कपूर, आलिया भट्ट, रोहित सेट्टी, अनुपम खेर, चिरञ्जीवी, राम चरण, कुमार विश्वास, कंगना रनौट, क्रिकेटर अनिल कुम्बलेलगायत थुप्रै सेलिब्रिटीहरु अयोध्याको राम मन्दिरमा पुगेका छन् ।
नेपालबाटसमेत सन्तहरुसँगै चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी भएका छन् । अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा गरिएको खुसियालीमा सीताको जन्मभूमि नेपालको जनकपुरधाममा पनि उल्लास छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।