काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले खुलामञ्चलाई खुलै रहन दिन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउने तयारी गरेपछि सर्वत्र विरोध भइरहेका बेला बाबुरामले आफ्नो विचार प्रकट गरेका हुन् ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले खुलामञ्चमा आमसभा हुन नदिन फुटबल ग्राउन्ड त्यो पनि ढुंगा ओछ्याएको बनाउने निर्णय गरेका छन् ।
बाबुरामले खुलामञ्चमा २०३६ सालमा आफूले पहिलोपटक गणतन्त्रको पक्षमा बोलेको स्मरण गर्दै हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत नभएको टिप्पणी गरेका छन् ।
उनले खुलामञ्चलाई अझ व्यवस्थित बनाउन पनि आग्रह गरेका छन् । खुलामञ्चलाई उनले लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल भएको बताएका छन् ।
‘खुलामञ्चलाई खुलै रहन दिऊॅ। यो पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलोपटक २०३६ सालमा यसै मन्चमा हृषिकेश शाहलगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ ।
बरू खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊॅ ।
जीवन्त लोकतन्त्रमा संसद मात्र हैन, सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन,’ उनले शुक्रबार सामाजिक सञ्जालमा भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।