काठमाडौं - कोशी प्रदेशको सभामुख प्रकरणले राप्रपामा दुई चिरा पर्ने देखिएको छ । केही समय अगाडिसम्म राप्रपाले राजसंस्था र हिन्दु राज्य पुनःस्थापनामा सशक्त भएर लाग्ने घोषणा गरेको थियो ।
त्यसका लागि आन्दोलन पनि गर्ने बताएको थियो । तर आन्तरिक कलहले राप्रपामा नेताहरूबीच नै घमासान लडाइँ चलिरहेको छ ।
कोशी प्रदेशले पुस २४ मा राप्रपाका अम्बरबहादुर विष्टलाई सभामुख पायो । उनी सभामुख भएको साता बितिसकेको छ । तर, राप्रपाले अहिलेसम्म यसको स्वामित्व ग्रहण गरेको छैन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले औपचारिक रूपमा सभामुख विष्टलाई बधाई र शुभकामना दिएका छैनन् । यदि सभामुख लिनु ठीक भए उनले बधाई दिन सक्थे । गलत भए फिर्ता बोलाउँछु भन्न सक्थे ।
तर, दुवै भनेका छैनन् । यो विषयले राप्रपामा स्पष्ट दुई धार देखिएको छ । सभामुख विष्टलाई फिर्ता बोलाउनुपर्ने पक्षमा प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत छन् । तर अध्यक्ष लिङ्देन मौन छन् ।
राप्रपाको एउटा समूहले फिर्ता हुन निर्देशन दिइसकेको छ । तर विष्टले राप्रपाबाट अलग भएको घोषणा गरेकाले अर्को संकट आइलागेको छ । सभामुख विष्ट लिङ्देन निकट सांसद हुन् ।
उनीहरूको गृहजिल्ला झापा नै हो । लिङ्देनले आफू देशबाहिर रहेको बेला विष्टलाई सभामुख बनाउने निर्णय प्रदेशका सांसदहरूले गरेको भन्दै अनभिज्ञता प्रकट गरेका थिए । महामन्त्री राणा समूहले सभामुख विष्टलाई तत्काल फिर्ता बोलाउन पार्टी अध्यक्ष लिङ्देनमाथि दबाब बढाएका छन् ।
आन्दोलनको एउटा मूल एजेन्डा नै प्रदेश खारेजी राख्ने अनि प्रदेशकै सभामुख लिने कार्य एकदमै गलत भएको राणा समूहको निष्कर्ष छ ।
यो समूहले सभामुख पद लिनुलाई अध्यक्ष लिङ्देनले सत्ता गठबन्धनसँग मिलेर घोषित आन्दोलन तुहाउने षड्यन्त्र रचेको अर्थमा समेत बुझेको छ । हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीका लागि गत पुस १–३ गते बसेको राप्रपा केन्द्रीय कार्य समिति बैठकले फागुनमा आन्दोलन गर्ने निर्णय गर्यो ।
निर्णयमा आन्दोलनको तयारी भने पुस र माघमा गर्ने भनियो । त्यसका लागि केन्द्रीय पदाधिकारी आन्दोलनको तयारी थाल्न फिल्डमा छन् ।
तर आन्दोलनको तयारी भइरहेकै बेला पार्टीमा कचिंगल देखिएको छ । सभामुख लिने कि नलिने विषयले राप्रपामा अध्यक्ष र महासचिव समूह वार कि पारको लडाइँमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।