काठमाडौं - अयोध्यामा राम मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा गर्ने दिन नजिकिँदै जाँदा एकजना नेपाली गुरु चर्चामा छन् ।
जनवरी २२ मा हुने मन्दिर उद्घाटनअघि एक नेपाली गुरु निकै चर्चामा छन् । उनी हुन्, झापाका दुर्गाप्रसाद गौतम । उनी राममन्दिरका मुख्य आचार्य हुन् ।
३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् । मन्दिरमा हुने कुनै पनि ठूला अनुष्ठान, पूजापाठ, महत्त्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० अगस्ट ५ मा मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास गरेका थिए ।
त्यसको विधिविधान र पूजापाठमा गौतमको सक्रिय सहभागिता थियो । भूमि पूजापछि पनि मन्दिर निर्माणका क्रममा धेरै पूजापाठहरू हुँदै आएका छन् ।
मन्दिरमा ढोका राख्दा होस् वा नवशिलाको प्रयोगपूर्वको प्रायः सबैजसो पूजा गौतमले गराउँदै आएका छन् । झापा मेचीनगर–१ का खड्गप्रसाद गौतमका जेठा छोरा दुर्गाप्रसाद सन् २००६ देखि अयोध्यामा छन् ।
उनले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन् । उनले हाल त्यहीं विद्यावारिधि पनि गरिरहेका छन् ।
अयोध्यास्थित श्रीराम वेद विद्यालयमा विज्ञापन निस्केपछि उनी त्यसमा प्रतिस्पर्धा गरेर अयोध्याको यात्रा थालेका थिए । वेद विद्यालयमा आचार्य रहेका उनलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले मन्दिरको जिम्मेवारीमा पनि जोडेको हो ।
ट्रस्टले मन्दिरमा संस्कृत र वेदका ज्ञातालाई राख्नुपर्ने आवश्यकता महसुस गरेर त्यही विद्यालयमा अध्यापनसमेत गराइरहेका झापाका गौतमलाई मन्दिरको मुख्य आचार्यको जिम्मेवारीमा ल्याएको हो ।
प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, मन्त्रीहरूदेखि विपक्षी दलका नेता अखिलेश यादव अयोध्या आएका बेला उनलाई पूजापाठ गराउन गौतम सक्रिय देखिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।