काठमाडौँ - धार्मिक भावनामा आँच पुर्याएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
काठमाडौँका ध्रुवराज लुईंटेलले बिहीबार किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका हुन् । गत पुस ४ मा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी तीन वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन निवेदकले माग गरेका छन् ।
उनले क्रिस्चियन धर्मविरोधी सबै संविधान विरोधी र देशद्रोही भएको आरोप लगाउँदै उनीहरूलाई जेल हाल्नुपर्ने बताएका थिए । किराँतीको सो अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्ड नै असन्तुष्ट छन् ।
‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दू धर्मको भावनाले ओतप्रोत भइ धर्मको माध्यमले राज्यलाई सशक्तिकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरी हिँडी आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति हुँ । विपक्षी सुदन किराँती भन्ने सुदन राई नेपाल सरकारको पर्यटन संस्कृति मन्त्री भई कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा विपक्षीले मिति २०८०–९–१४ गते भएको भेलामा क्रिश्चियन मान्दिन ‘भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भनी भाषण गरी निजले भाषणबाट जात, जाति, सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलिआएको धर्मलाई आघात पुर्याई क्रिश्चियनबाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचारसमेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पुर्याउन हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पुर्याएको, विपक्षी कसूरदारले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभावपुर पुर्याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरलसमेत भइरहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ ९१० को कसूरमा ऐ को दफा १५६ ९२० बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना समेत गराई पाउँ’, निवेदकमा उल्लेख गरिएको छ ।
मन्त्री किराँतीले बोलेको अडियो भिडियो सामग्री सबैतिर रहेकाले प्रहरीले उनीमाथि अनुसन्धान गर्नसक्ने देखिन्छ । मन्त्री जस्तो पदमा बसेर क्रिस्चियन पादरीले दिने अभिव्यक्ति दिएर धार्मिक भावनामा चोट पुर्याएको भन्दै सर्वत्र उनको राजीनामाको माग उठेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।