काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी पार्टीका नौ मन्त्रीको समीक्षा बैठकमा हुने बताइएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सामेल भएको थियो।
मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो।
सोही कारण कांग्रेसले बिहीबारदेखि हुने केन्द्रीय समिति बैठकमा मुख्य गरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पार्टीलाई जानकारी गराउनेछन्।
प्रचण्ड नेतृत्व सरकारमा कांग्रेसबाट खड्का, धनराज गुरुङ, डा.प्रकाशशरण महत, एनपी साउद, सीता गुरुङ, रमेश रिजाल, डिगबहादुर लिम्बू, मोहनबहादुर बस्नेत र सुरेन्द्रराज आचार्य मन्त्री छन् ।
तर खड्का, महत र साउदबाहेक अरु कसैको पनि परफर्मेन्स राम्रो नभएको नेताहरुको भनाइ छ ।
त्यसैले कांग्रेसका पुराना एक–दुईबाहेक अरु मन्त्री हटाइने बुझिएको छ । नयाँ मन्त्रीमा उदयशमशेर राणा, प्रकाशमान सिंह, किशोरसिंह राठोर, रमेश लेखक, सुनिल शर्मालगायतको चर्चा छ ।
बैठकमा महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि छलफल हुनेछ। कांग्रसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय गरेको छ ।
२०७८ मंसिरमा १४ औँ महाधिवेशन गर्दा कांग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति महाधिवेशनकोसमेत काम गर्ने गरी महासमिति बैठक गर्न लागिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।