काठमाडौं - पछिल्लो समय उत्तरीतर्फको छिमेकी देश चीन नेपालका कम्युनिस्ट पार्टीका नेताहरूसँग खासै खुसी देखिएको छैन ।
बेलाबेलामा नेपालका कम्युनिस्ट नेताहरूलाई बोलाएर पेटबोली बुझ्दै आएको चीन त्यति उत्साहित नदेखिएको एमाले महासचिव शंकर पोखरेलको भ्रमणले संकेत गरेको छ ।
पोखरेलले पनि यस्तो महसुस गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियानछाओले बेइजिङमा पोखरेलसँग भेट हुँदा भने, ‘कम्युनिष्टहरू मिल्दा राम्रो हुने थियो ।’
तर पोखरेल त्यति उत्साही देखिएनन् । आफ्नै पार्टी अध्यक्ष केपी ओलीको व्यवहारका कारण भएको एकता पनि टुटेको चिनियाँहरूलाई राम्रोसँग थाहा छ । अहिले एमालेबाहेकको समाजवादी केन्द्र बनाएर कम्युनिष्टहरू अगाडि बढिरहेका छन् ।
यसले पनि पोखरेलले ठोस जवाफ दिन सकेनन् । गत वर्ष जिम्मेवारी सम्हाल्नेबित्तिकै पहिलो भ्रमणका लागि काठमाडौं आएका जियानछाओले भने, ‘नेपालमा कुनै संगठित, व्यवस्थित पार्टी छ भने त्यो एमाले नै हो । अहिले एमाले प्रतिपक्षमा भए पनि कुनै पनि बेला सत्तारुढ हुन सक्छ । अहिले नै पनि प्रतिपक्षीका रुपमा खेल्ने भूमिका मज्जैले खेल्न सक्छ भन्ने हामीलाई लाग्छ ।’
तर, पोलिट्ब्युरो सदस्य तथा चीनकै ठूलो महानगर चोङछिङका पार्टी सचिव युआन जियाजुनले भने पोखरेलसँग राजनीतिक सन्दर्भमा खासै केही भनेनन् ।
उनी चिनियाँ कम्युनिष्ट पार्टीका २५ पोलिट्व्युरो सदस्यमध्ये प्रभावशाली मानिन्छन् । एमाले महासचिव पोखरेलले बेइजिङको भेटमा चुच्चे नक्साको प्रसंग उठाएका थिए ।
‘नेपालले जारी गरेको नक्सा सिंगो संसदले पारित गरेको हो । चीनले यसलाई बुझ्नुपर्छ’, उनले भने । यसबारे जियाजुनले सीधै केही भनेनन् ।
चीनले हालै निकालेको नक्सामा नेपालको चुच्चे नक्सा नै गायब छ । भेटका क्रममा चिनियाँ नेताहरू नेपालमा भारतभन्दा अमेरिकी गतिविधि बढेकोमा चिन्तित देखिन्थे ।
चीनले एमसिसीभन्दा चार महिनाअघि हस्ताक्षर गरेको बिआरआई अगाडि बढाउनुपर्ने कुरामा जोड दिँदै आएको छ । पोखरेलसँगको भेटमा पनि चिनियाँ नेताहरूले यो विषय उठाएका थिए ।
उनीहरूले नेपाललाई सहयोग गर्ने विषय नै उठाएनन् । खाली कम्युनिस्ट पार्टी मिल्नुपर्ने, बिआरआई अगाडि बढाउनुपर्नेमा मात्र उनीहरूको जोड थियो । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पोखरेल बीचमै चीन भ्रमण छोट्याएर फर्केका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।