काठमाडौं - शिक्षकहरूको आन्दोलनलाई लिएर काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आमने–सामने देखिएका छन् ।
काठमाडौं महानगरपालिकाले विद्यालय नै बन्द गरेर धर्ना, नारा–जुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन गए ती शिक्षकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
तर, महानगरभित्र रहेका ८९ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै माग सम्बोधन नभएसम्म निरन्तर धर्ना र आन्दोलनमा जाने बताएका छन् ।
प्रधानाध्यापकहरूले माग सम्बोधन नहुँदासम्म निरन्तर माइतीघरमा हाजिर हुने बताउँदै अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको घोषणा गरेका छन् ।
‘काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारी उपस्थित हुन अनुरोध गर्दै यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, आन्दोलनका क्रममा विद्यार्थीलाई हुने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
काठमाडौंका मेयर बालेनले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरूको तलब सुविधासहित जागिरसमेत खाइदिने चेतावनी दिइसकेका छन् ।
बालेनले बिहीबारदेखि नै विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुने शिक्षकको हाजिर काट्न निर्देशन दिइसकेका छन् । जसअनुसार आजैदेखि महानगरका कर्मचारी सामुदायिक विद्यालयमा अनुगमनका लागि खटिएका छन् ।
शिक्षक आन्दोलनले बालेनको असली परीक्षा लिने भएको छ । उनले हाजिर काटेर त्यसअनुसारको तलब दिनसकेमा जित हुनेछ । यदि सकेनन् भने उनको हार हुने निश्चित छ ।
आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने भएको छ । आफ्ना माग पूरा गराउन शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशैभरिका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुन लागेको हो ।
शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।
आन्दोलनको पहिलो दिन हिजो बुधबार ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।