काठमाडौं - माओवादीका उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताए ।
पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने पनि बताए । सरकारको भ्रष्टाचारविरोधी अभियान सही रहेको भन्दै उनले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे ।
पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको पनि बताए ।
सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी उनले गरे ।
जबकि आठ वर्षअघि सार्वजनिक भइसकेको भनिएको तस्बिरमा वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्तीले दाबा छिरिङलगायतसँग सँगै खाना खाएको देखिन्छ ।
त्यति मात्र होइन, उनले अन्य ठाउँमा पनि दाबासँग भेट गरेको तस्बिर सार्वजनिक भएको छ । अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए ।
‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्रहत्या हो ।’
पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे ।
उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए । त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गरे ।
पुनले पार्टीबाहिर वा भित्र अमूक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।