काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय राधा घले र लक्ष्मी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आपत्ति जनाएका छन् ।
कांग्रेस केन्द्रीय समिति जारी बैठकमा बुधबार बोल्दै उनीहरूले पार्टीको प्रभावशाली नेताहरूलाई बचाउन लागिपर्नु पर्नेमा उल्टै पक्राउ गरेकोमा धन्यवाद दिएको आलोचना गरेका हुन् ।
वैशाख २७ गते पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि सोही दिन गुरुराज घिमिरे, रञ्जित कर्ण, देवराज चालिसेलगायतका युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर धन्यवाद दिएका थिए । अहिले तिनै नेताहरू कांग्रेस रुपान्तरण अभियान भन्दै लागेका छन् ।
‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो र ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन,’ केन्द्रीय सदस्यद्वय राधा घले र लक्ष्मी खतिवडाले बैठकमा भने ।
शरणार्थी प्रकरणमा अभियोग लागेको अन्य पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको खतिवडाको दाबी छ । पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनले बताइन् ।
‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पुर्याउनुहोला,’ खतिवडाले भनिन् । घले र खतिवडा तरुण दल हुँदै पार्टी राजनीतिमा लागेका हुन् । दुवैलाई खाँणकै कारण तरुण दलमा ल्याइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।