काठमाडौं । एक वर्षअघि स्थानीय निर्वाचन सकिएलगत्तै काठमाडौंवासीले फोहोरको निकै समस्या झेल्नुपरेको थियो । काठमाडौंबाट उत्पादन हुने फोहोर सिसडोलवासीले व्यवस्थापन गर्न नदिएपछि सडकभरि थुप्रिएका थिए । काठमाडौंका मेयर बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापन गर्न निकै मिहिनेत गरेका थिए । बालेनले सिसडोलवासीको माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । सिसडोलमा फोहोर भरिएपछि नुवाकोटको ककनी र धादिङको धुनीबेंसीमा पर्ने बञ्चरेडाँडामा फोहोर फाल्न थालियो । तर आजदेखि काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरुलाई फोहोर विर्सजनमा अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण सोमबार बिहान फोहोर लिएर गएका गाडीहरु बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा रोकिएका छन् । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग एक वर्षअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले फोहोरका गाडीलाई अवरुद्ध गरेका हुन्। स्थानीयको अवरोधका कारण बीच बाटोमै ५० वटाभन्दा बढी फोहोर बोकेका गाडी रोकिएका छन् । नुवाकोटको ककनी गाउँपालिकाले गाउँपरिषदबाट साउन १ गतेदेखि प्रत्येक फोहोरको गाडीलाई एक सयदेखि १५ सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेको छ । यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रित दायर भएको छ । रिटको पेसी सोमबारकै लागि तोकिएको छ । स्थानीयले शुल्कभन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि जनप्रतिनिधिले पनि स्थानीयको आन्दोलनमा साथ दिएका छन् । फोहोरका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै समाधानका उपाय अवलम्बन गर्न भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको उनीहरुको भनाइ छ । यसअघि कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने मात्रै ल्यान्डफिल साइटमा विर्सजन गर्नेलगायका सहमति भएको, तर उक्त सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलित हुनुपरेको स्थानीयले जनाएका छन् । बर्खा लागेसँगै फेरि काठमाडौंका सडकमा फोहोर थुप्रिने हो कि भन्ने चिन्ता बालेनमा देखिएको छ । अहिलेसम्म काठमाडौं महानगरले यस विषयमा केही बोलेको छैन । काठमाडौंबाट दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका टिपर बञ्चरेडाँडा जाने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।