काठमाडौं - सोमबार माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चाको घोषणा गरे ।
आठदलीय सत्तारुढ गठबन्धनमा रहँदारहँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपगठबन्धन बनाएपछि यसको व्यापक आलोचना भइरहेको छ । धेरैले यसलाई लामो समय टिक्न नसक्ने भविष्यवाणी नै गरेका छन् ।
जन्मिँदै विवादमा परेकाले पनि समाजवादी मोर्चाको भविष्य लामो समय नरहेकोमा चार दलकै नेताहरु पनि सहमत छन् । समाजवादी मोर्चा गठन साढेसाती शनि दसामा परेको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन् ।
अधिकमास परेको वर्ष नेपाली राजनीतिमा सत्ता परिवर्तनको योग पर्ने गरेको भन्दै यस वर्ष पनि साउनमा अधिकमास परेकाले सत्ता परिवर्तन वा राजनीतिक दुर्घटना हुन सक्ने उनको भविष्यवाणी छ ।
०७७ असोज महिनामा अधिकमास परेको थियो, लगत्तै पुस महिनामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेका थिए । प्रचण्डको नक्षत्र सधैं विवादमा पर्ने रहेकाले उनको यो कार्यकाल पनि विवादै विवादमा बित्ने गरेको देखिएको छ ।
यसैक्रममा सोमबार मध्यराति एमाले नेता योगेश भट्टराईले प्रचण्ड–माधव नेपालको समाजवादी मोर्चालाई ‘एडल्ट क्लब’ को संज्ञा दिएका छन् । उनले समाजवादी मोर्चाको भविष्य छोटो रहेको भन्दै यसलाई एडल्ट क्लबको संज्ञा दिएका हुन् ।
योगेश विगतमा माधवकुमार नेपाल निकट नेता थिए । एमालेमा रहँदा माधवबाटै योगेशले राजनीति अघि बढाएका हुन् । तर अहिले उनले प्रचण्ड–माधवको मोर्चालाई एडल्ट क्लब भनेपछि सनसनी मच्चिएको छ ।
‘नेत्रविक्रम चन्द नेतृत्वको माओवादीदेखि उपेन्द्र यादव नेतृत्वको जसपा अनि बीचमा प्रचण्ड र माधव नेपाल । नाम समाजवादी मोर्चा । समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तर्रास्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्टिकोण, २००७, २०४६, २०६२/६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्टिकोण, आजको संविधानलाई हेर्ने दृष्टिकोणलगायतमा उहाँका बीचमा एकरुपता छ ? एसो हेर्दा भविष्य छोटो भएकाहरुको एडल्ट क्लब जस्तो । जहाँ इतिहासको बखान हुन्छ, तर भविष्यको कुनै सपना हुँदैन,’ योगेशले सामाजिक सञ्जालमा लेखेका छन् ।
केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड र माधव नेपाल पहिलेदेखि नै लिभिङ टुगेदरमा बसेको भन्दै समाजवादी मोर्चाको आवश्यकता किन भनेर प्रश्न गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।