काठमाडौं - प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले गाईजात्रा नै देखाएका छन् । संसदमा अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ ।
सत्तापक्ष र प्रतिपक्षी सांसदको ध्यान नीति तथा कार्यक्रमका राम्रा र नराम्रा पक्षबारे छलफल हुनुपर्ने हो । मन नपरे, कमीकमजोरी भए संशोधन गर्न पाइने व्यवस्था छ ।
एमाले सांसदहरू छलफल विषयान्तरमा लागेका छन् । सोमबारको बैठकमा यस्तै भयो । एमाले सांसद योगेश भट्टराईले ‘जनयुद्ध’ शब्दबारे प्रश्न उठाए ।
उनले कांग्रेसले जनयुद्ध स्वीकार गरे इतिहासमा सीमित हुने चेतावनी दिए । त्यसपछि माओवादी सांसदहरू खनिन थालिहाले । संसदमा बोल्ने अधिकांश माओवादी सांसदले योगेशलाई आच्छु आच्छु पारे ।
माओवादी सांसद माधव सापकोटाले त योगेशलाई बैगुनी केटो ओलीको दास भनेर हुर्मत नै लिए । सोमबारको बैठकमा उनले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता केपी ओलीले हेडमास्टर शैलीमा पढाएको बताएका थिए। मंगलबार आफ्नो पार्टी अध्यक्ष ओलीको रक्षामा एमाले सांसद गोकुल बास्कोटा उत्रेका छन् ।
उनले माओवादी सांसद सापकोटालाई ओलीलाई हेडमास्टरको उपाधिले मात्रै नपुग्ने भन्दै जवाफ दिए । ‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौँ। एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईँहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी (उपकुलपति) हो, प्रोफेसर डाक्टर हो ।’ उनले ओली अहिलेको परिवर्तनको इन्जिनियर, आर्किटेक्ट भएको दाबी गरे ।
‘उहाँ सबै हो, तपाहरूले कम्तीमा सिक्न पाउनुभएको छ। म बधाई भन्न चाहन्छु,’ बास्कोटाले भने । ओलीले नै संसदमा प्रमुख प्रतिपक्ष गतिहीन भनेर मूल्यांकन गरिरहेका बेला एमालेका सांसदहरू भने अप्रासंगिक विषय निकालेर जग हँसाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।