काठमाडौं - एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पपुलिस्ट र त्यसका नेतालाई छोएरै रोग निको पारिदिन्छु भन्ने सीमान्त गुरुसँग दाँजेका छन् ।
उनले उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुबीच कुनै अन्तर नभएको बताउँदै दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेको उल्लेख गरेका छन् ।
पछिल्लो समय पपुलिस्ट हुन विभिन्न आश्वासन देखाएर रविहरूले भीड जम्मा गरिरहेको र सीमान्त गुरुले छोएरै दीर्घ रोग ठीक पारिदिन्छु भनेर भीड जम्मा गरिरहेको दाबी गरेका छन् ।
महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोख्दै दुवैका कारण देशले दुःख पाएको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले संसदमा तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा गफ ठान्ने जमातले नबोलीकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गरिरहेको जिकिर गरेका छन् ।
‘कहाँ चुकेको छ सरकार ? नीति तथा कार्यक्रमले के कुरालाई सम्वोधन गर्नुपर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रुपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलीकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन ।
तर अर्कोतिर पुरानो होइन, नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छु्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन् ।
यसरी उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा के अन्तर भयो र ? दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् ।
यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुँदैन,’ पोखरेलले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।