काठमाडौं - एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले जुनसुकै घटनामा आरोपित गरेर कसैको चरित्रहत्या गर्नु उचित नभएको बताएकी छन् ।
मंगलबार नेपाली रेडियो नेटवर्क (एनआरएन) मा कुराकानीका क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति पाउने सवालै नरहेको बताइन् ।
‘यो बहुआयामिक काण्ड हो । यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन् । नक्कली भुटानी शरणार्थी बनेर जान चाहने, बनाउन चाहने र बनाएर पठाउने चेनमा संलग्न सबैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्छ । नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि र कानुनले दिएको अधिकारबमोजिम काम गरिरहेको छ । यसमा कसैले उन्मुक्ति पाउने सवालै छैन,’ उनको भनाइ छ ।
नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवामाथि ‘साइबर बुलिङ’ र ‘मिडिया बुलिङ’ भइरहेको आरोप पनि झाँक्रीले लगाइन् ।
‘उहाँको बारेमा मैले बचाउ गर्नुपर्ने त होइन । तर पनि उहाँलाई पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दलको सभापतिकी पत्नी भएकाले नखाएको विष लागेको छ । कुनै अनुसन्धान नगरीकन फ्याक्ट वा फाइन्डिङ नभईकन फलानो–तिलानो दोषी हो भनेर अनावश्यक विवादमा मुछिएको छ ।
यो साइबर र मिडिया बुलिङका बावजुद संसदमा आएर कन्फिडेन्टसाथ छानबिन गर्नुपर्छ भनिरहनुभएको छ । जुनसुकै घटनामा आरोपित गरेर कसैको चरित्रहत्या गर्नु उचित होइन ।
यस्तो घटनाले सम्बन्धित व्यक्तिमा कति मानसिक असर गर्छ, पछिल्लो दुई वर्षमा म आफैं भुक्तभोगी हुँ,’ उनले भनिन् । प्रधानमन्त्री र गृहमन्त्रीले नै कसैको दबाबमा काम गर्दैनौं भनिसकेपछि यसबारे आशंका गरिरहनुपर्ने कारण नभएको उनको जिकिर छ ।
‘यसमा कसैको राजनीतिक दबाब छैन । जो कोही भए पनि निष्पक्ष अनुसन्धान हुन्छ भन्ने प्रतिबद्धता आइरहेको छ । यसमा हामीले अनुसन्धानकर्मीको मनोबल कमजोर बनाउने भन्दा पनि बढाउने काम नै गर्नुपर्छ,’ झाँक्रीले भनिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।