काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन आफूलाई मनमा लागेको कुरा निर्धक्क भन्ने गर्छन् । त्यो पनि सामाजिक सञ्जालमार्फत । उनको एउटै स्टाटसले धेरैलाई भाउन्न बनाउने गर्छ ।
गत वर्षको वैशाखमा भएको स्थानीय निर्वाचनअघि बालेनले कसैले काठमाडौं महानगरपालिकाको विकास गर्छ भन्ने नलागेरै आफूले मेयरमा उम्मेदवारी दिएको र जित्छु भन्ने उनको टिप्पणी थियो ।
नभन्दै उनले भारी मतान्तरले चुनाव जिते पनि । त्यसयता बालेनले नेपालका कुनै पनि मिडियालाई अन्तर्वार्ता दिएका छैनन् । आफूलाई लागेको कुरा उनी सामाजिक सञ्जालमार्फत व्यक्त गर्छन् ।
महानगरपालिकाले गरेका निर्णय पनि उनी सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्छन् । केही दिनयता नक्कली शरणार्थी प्रकरणले देशको राजनीति तातेको छ ।
प्रमुख दलका ठूल्ठूला नेता नै तानिएपछि अहिले भ्रष्टाचारविरोधी आन्दोलन सुरु भएको छ । यसैक्रममा शनिबार काठमाडौंलगायत देशभरका सहरमा भ्रष्टाचारविरुद्ध खबरदारी गरियो । पूर्वप्रधानमन्त्रीदेखि सांसदसम्मका व्यक्तिहरु प्रदर्शनमा सहभागी भए । शनिबार राति नै मेयर बालेनले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई नाटकको संज्ञा दिँदै स्टाटस नै लेखे ।
उनले यस्ता आन्दोलन गरेर केही पनि नहुने भन्दै धेरै देखिसकेको उल्लेख गरेका छन् । नीति निर्माण तहमा पुगेका सांसद नै भ्रष्टाचारविरुद्धको आन्दोलनमा सडकमा उत्रेकोमा बालेनको असन्तुष्टि छ ।
उनले को नेता भन्ने पनि थाहा छ, घर कहाँ हो भन्ने पनि थाहा छ, भ्रष्टाचारीलाई सिधै बागमतीमा लगेर चोपाल्नुपर्नेमा सडक आन्दोलनको कुनै अर्थ नभएको उनको टिप्पणी छ ।
‘भ्रस्टाचारबिरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस् । यस्तो सडक नाटक धेरै देखिसक्यौ हाम्ले । पत्याउँदिन म चाहिँ ।
तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो,’ बालेनले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।