काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारबाही नहुने भएको छ ।
बिहीबार बसेको पार्टी पदाधिकारी बैठकमा खाणबारे सामान्य छलफलपछि तत्काल कारबाही गर्नु नपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो । कांग्रेसले पूर्वगृहमन्त्रीसमेत रहेका खाणले अनुसन्धानलाई सघाइरहेको ठहर गरेको छ ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले विचाराधीन विषयमा पक्राउ पर्नेवित्तिकै दोषी ठहर गर्न नहुने जानकारी दिए । उनले खाणले अनुसन्धानमा सघाइरहेको दाबी पनि गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष र तटस्थ रुपमा छानबिन गर्नुपर्ने भन्दै उनले दोषीलाई छाड्न नहुने बताए । ‘उहाँले अनुसन्धान सघाइरहनु भएको छ ।
उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर, निवासबाटै पक्राउ पर्नुभयो । हामीले अदालतको निर्णय पर्खिनुपर्छ,’ परियारले सञ्चारकर्मीलाई भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष र तटस्थ रुपमा छानबिन गर्नुपर्छ ।
कुनै पनि अनुसन्धानको क्रममा पक्राउ पर्नेवित्तिकै दोषी भन्न मिल्दैन । अदालतबाट फैसला आएपछि मात्रै दोषी ठहरिने हो । दोषीलाई छाड्नु हुँदैन । कांग्रेस कहिल्यै दोषीलाई उम्काउने पक्षमा छैन ।
सत्यतथ्य छानबिन गरियोस्, अनुसन्धानलाई प्रभाव नपारियोस् ।’ कांग्रेसले अदालतको निर्णय कुर्ने भएको छ । पदाधिकारी बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संगठन तथा विभागका विषयमा पनि छलफल भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।