काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सन्तनेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को आदर्श र मागदर्शनलाई आफूले सधैं पछ्याइरहने बताएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकाको बाडेगाउँस्थित किशुनजीको आश्रममा आज बुधवार बिहान पुगेर वृक्षरोपण गरेका खाँणले किशुनजी र बीपी कोइरालालाई स्मरण गरेको कांग्रेसका युवा नेता रामहरि खतिवडाले बताए ।
३९औं बीपी स्मृति दिवसका अवसरमा खाँणले किशुनजीको आश्रममा आएर वृक्षरोपण गरेर कांग्रेसका शिखर पुरुषहरुको सम्झना गरेका छन् ।
मन्त्री खाँणले कांग्रेसका अग्रज र संस्थापक नेताहरु बीपी कोइराला, किशुनजी र गणेशमान सिंहको योगदानले नै मुलुकले प्रजातन्त्र पाएको स्मरण गरे । ‘हाम्रा अग्रजले रोपिदिएको प्रजातन्त्रलाई हामीले जगेर्ना गर्नुपर्छ,’ मन्त्री खाँणले भने, ‘किशुनजी, बीपी कोइराला र गणेशमान सिंहज्यू जस्ता पुरुषहरुको पार्टी नेपाली कांग्रेसका हामी कार्यकर्ता हौं । उहाँहरुको आदर्श र मागदर्शनलाई पछ्याउन सक्यौं भने देश र जनताको उन्नति हुन्छ ।’

उनले किशुन, बीपी र गणेशमानको साधारण जीवनबाट आफू निकै प्रभावित बनेको बताएका छन् । गृहमन्त्री खाणसँगै किशुनजीको आश्रममा कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडा, कांग्रेस नेत्री मञ्जु खाँण सहितका कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

गृहमन्त्री खाँणलाई आश्रमको संरक्षण गर्दै आएकी आमिता कपालीले स्वागत गरेकी थिइन् । किशुनजीलाई अन्तिम समयसम्म कपालीले सेवा गरेकी थिइन् । किशुनजीको आश्रमलाई कपालीले संरक्षण गर्दै आएकी छन् ।
कपालीले गृहमन्त्री खाँणलाई किशुनजीको सादगी जीवन तथा राजनीतिलाई अनुसरण गरेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरेकी छन् ।


यसअघि नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मंगलवार किशुनजीको आश्रममा आएर माल्यापर्ण गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।