काठमाडौं– निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तिम कार्यकालको समय प्रतिनिधिसभाका दुवै सदनबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो कानुनविद्सँग छलफल गर्ने भएका छन्।
आज दिउँसो १ बजे कानुनविद्सँग राष्ट्रपति पौडेलले छलफल गर्न लागेको राष्ट्रपतिको सचिवालयले बताएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकोे समय दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्।
संशोधित नागरिकता विधेयक राजनीतिक दलबीच सहमति नहुँदा हालसम्म सदनबाट पारित हुन सकेको छैन। हिजो मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीसँग विधेयकबारे छलफल गरेका थिए।
वैवाहिक अंगीकृतलाई नागिरकता दिने विषयमा राजनीतिक दलबीच सहमति हुन सकेको छैन। संसद्ले पारित गरेको नागरिकता विधेयकले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गरेपछि नागरिकता पाउने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ।
लामो समयदेखि नै नेपालमा यही अभ्यास भइआएको छ। तर, नागरिकता ऐन संशोधन गर्ने क्रममा राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्र दिने व्यवस्था गरेपछि कांग्रेसलगायत मधेसवादी दलले अस्वीकार गरिरहेका छन्।
लामो समय संसद्मा अड्किएको यो विधेयक देउवा नेतृत्वको सरकारले २१ असार २०७९ मा फिर्ता लिएर २४ असारमा नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो। उक्त विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे विद्यमान कानुनलाई नै निरन्तरता दिइने भनिएको छ।
राष्ट्रियसभाले पनि छिट्टै पास गरेपछि तत्कालीन सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि १६ साउनमा राष्ट्रपतिकहाँ पठाएका थिए। तर सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन्।
राष्ट्रपतिले फर्काइदिएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पुनः हुबहु पारित गरी २० भदौमा तत्कालीन सभामुख सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपति कहाँ पठाएका थिए। तर विधेयक प्रमाणीकरण हुन सकेन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।