काठमाडौं - बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाका प्रमुख हुन् । मेयर सार्वजनिक पद भए पनि बेलाबेला सामाजिक सञ्जालमा राखेका स्टाटस र अभिव्यक्तिका कारण उनी चर्चामा आइरहन्छन् ।
आफूलाई मनमा लागेका कुरा उनी सामाजिक सञ्जालमै लेखेर विरोध जनाउने गर्छन् । कुनै विषयमा असन्तुष्टि रहेलगत्तै त्यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइहाल्ने बालेनको स्वभाव छ ।
यही क्रममा मंगलबार राति उनले राजनीतिक दलका नेताहरूप्रति अत्यन्तै कटु, अमर्यादित र अराजनीतिक टिप्पणी गरेका छन् ।
राजनीतिक दल र तिनका नेताप्रति पटक–पटक खनिँदै आएका बालेनले ‘नयाँ, पुराना सबै नेताहरू चोर’ भएको अराजनीतिक टिप्पणी गरेका हुन् ।
अराजनीतिक भाषामा बालेनले नेतामाथि टिप्पणी गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । बुधबार बिहानसम्म सो स्टाटसलाई एक लाख १६ हजारले लाइक, २५ हजारले कमेन्टस र चार हजारभन्दा बढीले सेयर गरेका छन् ।
यसअघि उनी सबै नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै स्टाटस लेखेर विवादमा परेका थिए। मंगलबार उनले ‘नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन’ भनेर कसलाई भन्न खोजेका हुन् भनेर अनुमान लगाउने काम जारी छ ।
उनको स्टाटसमाथि सामाजिक सञ्जालमा आलोचनासँगै समर्थन दुवैथरि प्रतिक्रिया आइरहेका छन्। बालेनले नयाँ भनेर राष्ट्रिय स्वतन्त्र पार्टी र पुराना भनेर कांग्रेस, एमाले, माओवादीका नेतालाई संकेत गरेको हुनसक्ने अनुमान गरिएको छ ।
तर मेयरको कुर्सीमा बसेर राजनीतिक दलका नेताहरूलाई अमर्यादित गाली गर्दा बालेनको इज्जत बढ्छ कि घट्छ भनेर उनले ख्याल नगरेको देखिन्छ ।
उनले रास्वपा फेरि गठबन्धनमा आबद्ध भएर सरकारमा जान खोजेकाले बालेन फायर भएको हो कि भन्ने अनुमान गरिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।