काठमाडौं - १० लाख क्रियाशील सदस्य भएको नेपाली कांग्रेस घाटामा चलिरहेको छ । निर्वाचन आयोगमा बुझाएको आम्दानी र खर्चको विवरणअनुसार कांग्रेस झन्डै चार करोड घाटामा छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेसको प्रतिनिधि सभामा उसको सिट संख्या ८९ छ । आर्थिक वर्ष ०७८÷७९ सम्म कांग्रेसले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी गरेको छ ।
तर खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ छ । आयोगमा बुझाइएको विवरणबमोजिम कांग्रेसको तीन करोड ८४ हजार १३५ रुपैयाँ दायित्व छ । आयोगका अनुसार एमाले सबैभन्दा धनी दल रहेको छ ।
निर्वाचन आयोगमा बुझाइएको आय–व्ययको विवरणअनुसार एमालेको मौज्दात करिब १३ करोड छ । कुल आम्दानी भने करिब ४१ करोड छ ।
एमालेको असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपैयाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपैयाँ खर्च छ । कुल आम्दानीमा चल÷अचल सम्पत्तिसमेत गरेर ४१ करोड हुन सक्ने बताइएको छ ।
प्रतिनिधिसभामा एमालेले ७८ सिट जितेको छ । एकीकृत समाजवादीले नौ महिनामा सात करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ ।
प्रतिनिधिसभामा १४ सिट जितेको सो दलको मौज्दात करिब तीन करोड २१ लाख छ । माओवादीको आम्दानी नौ करोड ८६ हजार ६४ रुपैयाँ छ भने सात करोड ४२ लाख ६४ हजार ४३ रुपैयाँ खर्च छ । यसरी सो दलको करिब एक करोड ५८ लाख मौज्दात छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।