काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णयअनुसार प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो ।
बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने नौ दलबीच २१ मन्त्रालयमा सहमति भएको बताइको छ । जसअनुसार माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, नेपाली कांग्रेसलाई आठ, एकीकृत समाजवादीलाई दुई, जनता समाजवादी पार्टीलाई दुई, जनमत पार्टीलाई राज्यमन्त्रीसहित दुई, लोकतान्त्रिक जनता पार्टीलाई एक, नागरिक उन्मुक्ति पार्टीलाई एक, आम जनता पार्टीलाई एक र नेपाल समाजवादी पार्टीलाई एक मन्त्रालय दिने सहमति भएको बाहिर प्रचारमा ल्याइएको छ ।
जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुंगो लागेको जनाउँदै बिहीबार अपरान्ह शपथ ग्रहण गराउने गरी भागबन्डा टुंगिएको बताइएको छ । तर, प्रचण्डले मन्त्रिपरिषद् आफू अनुकूल बनाउन लागेका छन् । हुन त क्याबिनेटमा प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छ । आफू अनुकूल मन्त्री नियुक्त गर्ने चलन छ । तर पनि प्रचण्डले बाबुराम भट्टराईको पार्टीबाट महीन्द्र राय यादव र प्रभु साहलाई मन्त्री बनाउन गरेको तिकडमका कारण कांग्रेस र एकीकृत समाजवादीका नेताहरू असन्तुष्ट बनेका छन् ।
स्वतन्त्र सांसद जितेका प्रभु साहले पछि आमजनता पार्टी खोलेका थिए । महीन्द्र यादव र प्रभु साहलाई मन्त्री बनाउँदा कांग्रेस र एकीकृत समाजवादीले पाउने एक एक मन्त्रालय खोसिएको छ ।
प्रचण्ड अहिले पनि रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा ल्याउने तयारीमा छन् । रास्वपा सरकारमा सहभागी भए कांग्रेसको अझै एक मन्त्रालय खोस्ने प्रचण्डको रणनीति छ । आफ्नो पार्टीले पाँच मन्त्रालय राखेर महीन्द्र यादव र प्रभु साहलाई मन्त्री बनाएर प्रचण्ड कांग्रेस हाराहारीको शक्ति जुटाउन सफल भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।