काठमाडौं - नेपाली कांग्रेसले मंगलबार सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने भएको छ ।
त्यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको छ। बैठकमा सरकारमा सहभागितालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
सरकार विस्तारको तयारी भइरहेको अवस्थामा कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने नेता र मन्त्रीको नाम टुंगो लगाउन कार्यसम्पादन समितिकै बैठक बोलाएको हो ।
सरकारमा जाने नेताहरुको नाम लगभग टुंगो लगाइसकेको र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई अनुमोदन गर्ने बताइएको छ ।
कांग्रेसले सधैं केन्द्रीय समिति बैठकबाट मन्त्रीको नाम अनुमोदन गर्दै आएको छ । यसपटकदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गर्ने छ ।
मिडियामा कांग्रेसबाट नेतृत्व गर्ने नेताको नाम फरक फरक आउन लागेपछि नेताहरुमा चिन्ता थपिएको छ । नेताहरुले आफूअनुकूलका मिडियालाई नाम दिने गरेकाले बैठकबाटै टुंगो लगाउन लागेको उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
कांग्रेसमा उपसभापति खड्का, धनराज गुरुङ, प्रकाशमान सिंह र डा.शेखर कोइरालामध्ये एकले नेतृत्व गर्ने चर्चा छ । कांग्रेसले अर्थसहित कम्तीमा आठ मन्त्रालय दाबी गरेको छ ।
माओवादीले गृह मन्त्रालय पनि लिन चाहेको छ भने एकीकृत समाजवादीले कम्तीमा तीन मन्त्रालय दिनुपर्ने अडान राख्दै आएको छ । तर उसले पाउने भनेको दुईवटा मन्त्रालय मात्रै हो ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने भएको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालयको संख्या बाँडफाँटमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको हो ।
प्रचण्डले आइतबार बिहानैदेखि सत्तारुढ दलसँग छुट्टाछुट्टै छलफल गरे पनि कुनै टुंगोमा पुग्न सकेनन् । सोहीकारण गठबन्धन दलको संयुक्त बैठक पनि बस्न सकेको छैन ।
एकीकृत समाजवादीले उपाध्यक्ष वेदुराम भुसाल वा प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा गरेका छन् ।
लोकतान्त्रिक समाजवादीबाट शरत्सिंह भण्डारी, नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा सहभागी हुँदै छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।