काठमाडौं- परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारमा आयोजना हुन लागेको अतिकम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन जान लागेको र आफू जेनेभामा हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार सम्मेलनमा जान लागेको बताइन् । उनको आइतबार बेलुककौ हवाई टिकट थियो । तर उनी जेनेभा जाने तयारी गरिरहेकै बेला मुख्यसचिव शंकरदास बैरागीको फोन आयो । प्रधानमन्त्री प्रचण्डले जेनेभा नजान निर्देशन दिएको भनेपछि मन्त्री पौडेलको भ्रमण स्थगित भयो ।
आइतबार सांस्कृतिक संस्थान नाचघरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आफ्नो विषयमा हुने नहुने बोलेपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित भएका थिए । ओलीले प्रचण्डलाई बिरालोसँग तुलना मात्र गरेनन्, विश्वास नभएको नेतासमेत भनेका थिए । एउटै सरकारमा रहेका दलका नेताले आफ्नो मानमर्दन गरेपछि प्रचण्ड रिसाउनु नाजायज हुन्न । त्यसैले प्रचण्डले ओलीको रिस परराष्ट्रमन्त्री पौडेलको विदेश भ्रमण रोकेर बदला लिएका छन् ।
आफ्नो विदेश भ्रमण रोकिएपछि पौडेल आइतबार साँझ पार्टी अध्यक्ष ओली निवास बालकोट पुगेकी थिइन् । उनले आफ्नो मन्त्रालयको काममा प्रचण्डले हस्तक्षेप गरेको गुनासो गरेकी थिइन् । पौडेलले अध्यक्ष ओलीसँग डेढ घन्टा कुराकानी गरेकी थिइन् । त्यसलगत्तै ओली निवासमा एमाले उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पुगेका थिए ।
उनीहरुबीच साँझ साढे ६ बजेदेखि दुई घन्टा कुराकानी भएको हो । पार्टीका अध्यक्ष ओलीसँग उपाध्यक्ष र महासचिव पोखरेलद्वयले प्रचण्डको चुरीफुरी बढेको भन्दै आक्रोश व्यक्त गरेको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।