काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपाले दोहोरो राजनीति सुरु गरेको छ । एमालेको राष्ट्रपतिका उम्मेदवारलाई माओवादीले समर्थन नगरी कांग्रेस उम्मेदवारलाई समर्थन गर्न अर्कै गठबन्धन गरेको झोकमा केन्द्र र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाको त्यो निर्णय २४ घन्टामै धोती लगाइदिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई शनिबार नै पार्टीका चार मन्त्रीसहित सामूहिक राजीनामा बुझाए । तत्कालै राप्रपा बागमती प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाए ।
उनीहरूले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन् । तर, राप्रपा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छैन ।
केन्द्रले नै प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दा पनि राप्रपाका मन्त्रीहरूले तीनै प्रदेशमा राजीनामा दिएका छैनन् । राप्रपाले तीनवटै प्रदेशमा सरकार नछाड्नुको कारण केपी ओली हुन् ।
ओलीकै निगाहामा राजनीति गर्दै आएको राजेन्द्र लिङ्देनले एमालेका मुख्यमन्त्रीको कुर्सी जोगाउन प्रदेशका आफ्ना मन्त्रीहरूलाई पदमै बसिरहन निर्देश गरेका छन् । पार्टीले नै संघ र प्रदेश सरकारमा नरहने निर्णय गरेपछि त्यो तल्लो तहसम्मै लागू हुने हो ।
तर अहिले लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग रिसाएर उनको पार्टीबाट मुख्यमन्त्री बनेको प्रदेशमा मात्र समर्थन फिर्ता लिएका छन् । यदि राप्रपा सरकारबाट बाहिरिएमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा तत्काल सरकार ढल्छ ।
तर, एमालेको सरकार ढाल्ने पक्षमा राप्रपा देखिएको छैन । राप्रपाकै कारण प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र लुम्बिनीका मुख्यमन्त्रीको कुर्सी कम्तीमा पनि फागुन २५ गतेसम्म लम्बिने भएको छ ।
राप्रपा गण्डकीले शनिबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । गण्डकी प्रदेशका राप्रपाका मन्त्री पञ्चराम गुरुङ काठमाडौंमै थिए । उनी आइतबार पोखरा गएर मुख्यमन्त्रीसमक्ष राजीनामा दिने मनस्थितिमा थिए । तर पार्टी अध्यक्षको निर्देशनका कारण उनी राजीनामा दिनबाट रोकिएको राप्रपाका एक नेताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।