काठमाडौं - घुस खानु आमाको रगत खानुसरह भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि एक अर्ब भ्रष्टाचारको आरोप लागेको छ ।
उपप्रधान एवं ऊर्जामन्त्री लिङ्देनले एकैपटक १५ सय मेगावाट बिजुलीको पिपिए गरिदिए । अर्थात् १५ सय मेगावाट बिजुली खरिद गर्ने सम्झौता गर्दा अर्बौंको खेल भएको र त्यसमा उनले एक अर्ब लिएको चर्चा चलेको हो ।
मन्त्री लिङ्देनमाथि नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा एक अर्ब घुस लिएको आरोप लागेको हो । लामो समयदेखि रोकिएको प्रवाही नदीमा आधारित जलविद्युत आयोजना (आरओआर) को खरिद बिक्री सम्झौता माघ २४ गतेबाट खुल्ला गरिएको छ ।
१५ सय मेगावाटबाट लगभग एक अर्ब रुपैयाँ घुसबापत संकलन हुने देखेपछि मन्त्री लिङ्देनसमेत राजी भई सम्झौता खुला गरिएको आरोप उनीमाथि लागेको छ । मन्त्री लिङ्देन प्राधिकरणका निर्देशक कुलमान घिसिङ र केही ऊर्जा व्यवसायीहरुको प्रभावमा परेको भन्दै केही समाचार सार्वजनिक भएको थियो ।
आफूमाथि एक अर्ब भ्रष्टाचारको आरोप लागेपछि उनले बिहीबार सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । सुनियोजित ढंगबाट दुष्प्रचार गरिएको उनको दाबी छ ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘विद्युत खरिद सम्झौतामा मात्र होइन, मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।’
घुस खानु र आमाको रगत खानु एउटै हो भनेर संसदमा शपथ खाएदेखि लिङ्देन चर्चामा छन् । यसअघिका ऊर्जामन्त्रीहरूमाथि जलविद्युत आयोजनाको पिपिए गर्दा अर्बौं कमिसन लिने गरेको आरोप लाग्दै आएको छ ।
पूर्वऊर्जामन्त्री गोकर्ण विष्टले पाँचवटा आयोजनाको पिपिए गर्दा १० अर्ब बढी कमिसन लिएको आरोप लागेको थियो । राप्रपाकै उपाध्यक्ष एवं सहरी विकासमन्त्री विक्रम पाण्डेलाई सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारमा अदालतबाट सफाइ दिन लगाएपछि राजेन्द्र लिङ्देन पनि विवादमा तानिएका हुन् । सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारको दोष घुलनशील माटोलाई लगाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।