काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुरुमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।
रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकताको समाप्ती राज्य वा व्यक्तिको निर्णयबाट हुने तर प्राप्तिका लागि राज्यको उपस्थिति अनिवार्य हुने बताए ।
अमेरिकी ग्रिनकार्ड लिने बेलामा अरु कुनै देशको नागरिक नरहेको र कुनै पनि राज्यप्रति निष्ठा नरहेको शपथ लिएका लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपालमा नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै नथालेको उनले बताए । त्यो प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने अहिले नेपाली भएपनि नेपाली नागरिक नभएको उनको तर्क छ ।
किरण गुप्ताको मुद्दा लामिछानेसँग मिल्ने भन्दै उनले एउटा नजीर पनि सुनाए । वरिष्ठ अभिवक्ता भण्डारीका अनुसार नेपालमा जन्मिएकी हुर्किएकी किरणले भारतीय नागरिकसँग बिहे गरेपछि आधार कार्ड सबै कागजपत्र बनाएकी थिइन् ।
२०१८ मा जब ग्राम विकास समितिको मुखियामा निर्वाचित भएपछि मुद्दा परेको र निर्वाचन आयोगले २०१६ मा नेपालको नागरिकता परित्याग गरेपछि भारतीय नागरिकता लिन प्रक्रिया सुरु नगरेकाले भारतीय नागरिक भन्न नमिल्ने व्याख्या भएको उनले सुनाए । यस्तै सरोजनाथ प्याकुरेलको मुद्दामा नागरिकता नभई राजनीतिक पदमा जान सकिन्न भन्ने व्याख्या भइसकेको उनले बताए ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्ण, निकिता ढुंगाना, अमृत खरेललगायतले एउटै बहस नोट पेश गर्दै लामिछानेले नेपाली नागरिकता आफुखुशी त्यागेर अमेरिकी नागरिकता त्यागेको तर अमेरिकी नागरिकता त्यागिसकेपछि नेपालको नागरिकता लिन प्रक्रिया सुरु नगरेको बताएका छन् । उनीहरुले नागरिकता ऐनको दफा १० र ११ उधृत गर्दै रवि लामिछानेले भनेझैं अमेरिकाको नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिक नहुने बताए ।
अधिवक्ता रमण कर्णले अमेरिकी नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएपछि र त्यस्तो निस्सा दर्ता भएपछि मात्र नेपाली नागरिकता सक्रिय हुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।