काठमाडौैं - फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री रवि लामिछानेकै अगाडि मतदानमा भाग लिएर हिँडेपछि यो देशमा राजनीति कसरी साँठगाँठमा चलेको छ भन्ने प्रस्ट हुन्छ ।
हुन त लामिछाने आफैं विवादास्पद चरित्र भएको व्यक्ति हुन् । उनीमाथि नै विदेशी नागरिकता र राहदानी हुँदाहुँदै नेपाली बनाएको अभियोग लागेको छ । सर्वोच्च अदालतमा माघ ११ गते सुनुवाइ हुँदैछ ।
अर्कालाई होच्याएर र गाली गरेकै भरमा २० सांसद जितेर गृहमन्त्री बनेका लामिछानेले बुधबार अर्को नाटक गरे । दिनभरि एमाले अध्यक्ष केपी ओलीसँग बसेर चिया खाएर हिँडेपछि आफूले हत्या अभियोग लागेका एमाले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको दाबी गरे ।
जबकि महतो सँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको मतदानमा महतोले पनि भाग लिए।
प्रस्तावको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए। गृहमन्त्री लामिछाने पनि प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए। पुस्तिकामा वर्णानुक्रमअनुसार नामावली राखिएको थियो। वर्णानुक्रममा गृहमन्त्री लामिछाने र फरार सूचीका महतोको नाम सँगसँगै थियो।
यसअघि प्रहरीले संसद् सचिवालयलाई महतो सम्पर्कमा आए खबर गर्न पत्र पठाएको थियो। तर, गृहमन्त्रीकै सामुन्नेमा उभिँदा पनि महतो पक्राउ परेनन्। महतो सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन्।
मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग उनीमाथि छ। उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि फरार छन्।
तर, मिडियामा फरार रहेका सांसद महतोले गृहमन्त्रीकै अघि संसदमा भोट हाले भन्ने समाचार मिडियामा भाइरल बनेपछि लाज छोप्न पनि लामिछानेले आफूले महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका हुन् ।
जबकि अहिले एमालेको बलमा बनेको सरकार छ । गृहमन्त्री लामिछानेले चाहँदैमा एमाले सांसद महतो पक्राउ पर्छन् भन्ने धेरैलाई लागेको छैन । लामिछानेसमेत एमाले अध्यक्ष ओलीको निर्देशनविना एक कदम अगाडि नचल्ने अवस्थामा छन् । तर दुनियाँलाई नौटंकी देखाउन भने रविले अझै छाडेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।