नयाँ दिल्ली- भारतको इस्टर्न कमाण्डका जनरल अफिसर कमाण्डिङ इन चिफ लेफ्टिनेन्ट जनरल राणाप्रताप कलिताले पूर्वी सिमानामा भारत-चीन फेसअफको बारेमा बोल्दै भारत आफ्नो सीमा सुरक्षाका लागि जुनसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्।
उनले यो सन् १९६२ नरहेको र र सीमामा कुनै पनि परिस्थितिको सामना गर्न भारतीय सेना तयार रहेको बताएका हुन्। पछिल्लो समय भारत र चीनबीच सीमा क्षेत्रमा केही झडपको स्थिति सिर्जना भएपछि उनले यस्तो बताएका हुन्।
यसअघि पूर्वी लद्दाखको गलवानमा करिब अढाई वर्ष अगाडि दुवै देशका सैनिकबीच झडप भएको थियो। त्यसक्रममा २० भारतीय सैनिक मारिएका थिए। चीनले आफ्नोतर्फको क्षतिबारे केहि उल्लेख गरेको छैन। यद्यपि, झडपमा ४५ चिनियाँ सैनिकले ज्यान गुमाएका दाबी गरिएको छ। घटनायता दुवैतर्फको सीमा क्षेत्रमा सैन्य तैनाथी बढाउँदै लगिएको छ। त्यसयता १६ चरणमा वार्ता भए पनि निकास निस्केको छैन।
त्यसैगरी पछिल्लो समय अरुणाचल प्रदेशको तवाङमा चार दिन अगाडि चिनियाँ सैनिकसँगको झडपका विषयमा रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसद्लाई संक्षिप्त जानकारी दिएका छन्।
झडपको विषय सार्वजनिक भएसँगै प्रमुख विपक्षी कंग्रेससहितका दलले सरकारमाथि दबाब बढाएपछि घटना भएको चार दिनपछि सरकारले त्यसबारे सदनलाई जानकारी गराएको हो। डिसेम्बर ९ मा भएको घटनाबारे रक्षामन्त्री सिंहले डिसेम्बर १३ मा संसद्लाई संक्षिप्त जानकारी दिएका हुन्। तीन मिनेटको मन्तव्यमा उनले चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले दृढताका साथ सामना गरेर विफल तुल्याइदिएको दाबी गरेका छन्।
‘९ डिसेम्बर २०२२ मा पीएलए सैनिकले तवाङ सेक्टरको यांगत्से क्षेत्रमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ अतिक्रमण गरेर वास्तविक लाइनलाई एकतर्फी बदल्ने प्रयास गरेका थिए,’ सिंहले भनेका छन्, ‘चीनको त्यस्तो प्रयासलाई हाम्रो सेनाले दृढताका साथ विफल तुल्याएको छ।’ झडपमा दुईतिरैका सैनिकमध्ये केहीलाई चोट लागे पनि भारतपट्टि कुनै पनि सेनाको मृत्यु नभएको र कोही गम्भीर घाइतेसमेत नरहेको उनको दाबी छ। घटनापछि स्थानीय कमान्डरले चिनियाँ समकक्षीसँग बैठक गरी शान्ति कायम गर्न आग्रह गरेको सिंहले बताए। घटनाबारे कूटनीतिक तहबाट पनि चीनसँग कुरा राखिएको उनको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।